पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्कीमा तीन वटै क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट राजकाजी गुरुङ (करन), क्षेत्र नम्बर २ बाट हेमबहादुर थापा पराजुली (किरण) र क्षेत्र नम्बर ३ बाट प्रेम पौडेलले टिकट पाउनु भएको छ ।

गुरुङ पहिलो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएको थियो । त्यसयता दोस्रो संविधानसभामा उहाँ पर्वतबाट र पहिलो प्रदेशसभा निर्वाचनमा कास्की २ (२)बाट उम्मेदवार भए पनि पराजित हुनु भएको थियो ।

कास्की क्षेत्र नम्बर २ मा टिकट पाउनु भएका पराजुली पहिलो पटक संसदीय निर्वाचनमा उत्रिनु भएको हो । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सहभागी गुरुङ र पराजुली दुवै साविक माओवादीका नेता हुनु हुन्छ । कास्की क्षेत्र नम्बर ३ मा साविक नेकपा एकीकृत समाजवादीका नेता प्रेम पौडेलले टिकट पाउनु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ का बासिन्दा पौडेल पनि संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बन्नु भएको हो ।
