पोखरा । पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानित हुन लागेका हुन् ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा पत्रारकार महासंघ कास्कीका सल्लाहकार राजेन्द्र अधिकारी, पूर्वसम्मानित व्यक्तित्व मोतिसागर अधिकारी, पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ थिए । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रहेको छ ।

पाेखरा पर्स्यास्याङका सुवर्ण काेइराला परिवारले पुरस्कारको स्थापना गर्नु भएको हो । सम्मानित हुन लागेका बस्नेत खेलाडीन्यूज डटकम र टक्सार म्यागाजिनमा आवद्ध छन् । २०६० सालमा नेपाल समाचारपत्रबाट पत्रकारिता सुरु गरेका उनले नागरिक दैनिकमा काम गरेको अनुभव छ । बस्नेतले यसअघि सहारा खेलकुद पुरस्कार २०६४ र जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकार पुरस्कार प्राप्त गरिसकेका छन् ।

अर्का सम्मानीत पत्रकार तिमिल्सिना एपिवान टिभी र क्लिक गण्डकीमा आवद्ध छन् । २०५९ सालदेखि समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिनाले पोखरा एफएम, रेडियो तरङ्ग, उज्यालो रेडियो नेटवर्क, विग एफएम, एभिन्यूज, सेतोपाटी, गनथन डटकममा काम गरिसकेका छन् ।तिमिल्सिनाले यसअघि सहारा पत्रकारिता पुरस्कार, जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने खेलकुद अवार्ड र रेवान पोखराले प्रदान गर्ने पर्यटन पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।