पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशका ११ वटै जिल्लाका १८ निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । एमालेको यो चयनमा ‘हेभीवेट’ नेतादेखि विवादित छविका पात्रसम्म समेटिएका छन् भने कतिपय जिल्लामा युवा पुस्तालाई पाखा लगाउँदै पुराना अनुहारलाई नै दोहोर्याइएको छ ।

कास्कीमा ‘टेस्टेड’ नेताकै रजगज, आशालाग्दा युवा नेता पाखा
आसन्न निर्वाचनमा कास्कीका तीनवटै क्षेत्रमा एमालेले पुराना र यसअघि नै अवसर पाइसकेका नेताहरूलाई व्यवस्थापन गरेको छ । पछिल्लो समय राजनीतिमा युवा र नयाँ अनुहारको माग भइरहे पनि एमालेले भने कास्कीमा युवा नेताहरूलाई पूर्णतः उपेक्षा गरेको छ ।

कास्की क्षेत्र नम्बर २ मा एमालेले पोखरा महानगरका पूर्वमेयर तथा गण्डकी प्रदेशका पूर्वसांसद कृष्ण थापालाई पुन: टिकट दिएको छ । रवीन्द्र अधिकारीको विरासत रहेको र विद्या भट्टराईले निरन्तरता दिएको यस क्षेत्रमा यसपटक युवा नेता रश्मि आचार्यले अवसर पाउने चर्चा कार्यकर्तामाझ थियो । विशेषगरी विद्यार्थी राजनीतिबाट आएका र युवा पुस्तामा लोकप्रिय मानिएका आचार्यलाई पन्छाएर थापालाई टिकट दिइएको छ ।

त्यस्तै, क्षेत्र नम्बर ३ मा दामोदर बैरागीले पुन: टिकट पाएका छन् भने क्षेत्र नम्बर १ मा बैनबहादुर अधिकारी क्षेत्रीलाई अघि सारिएको छ । एमाले कास्कीका अध्यक्षसमेत रहेका क्षेत्री २०७४ देखि ७९ सम्म जिल्ला समन्वय समिति कास्की प्रमुख थिए । उनले संसदीय चुनावमा टिकट पाएको पहिलो पटक हाे । कास्की एकमा युवा नेता दिलीप न्याैपानेले टिकट पाउने चर्चा थियाे । विद्यार्थी राजनीतिबाट आएका र युवा पुस्तामा लोकप्रिय मानिएका न्याैपानेकाे नाम एकबाट सिफारिस भएको थियाे । जेन्जी (Gen-Z) आन्दोलनपछि बदलिएको परिवेशमा नयाँ र जोशिला युवाहरूलाई अवसर दिनुको साटो ‘टेस्टेड’ अनुहारलाई नै प्राथमिकता दिँदा कास्कीमा एमालेलाई रास्वपा र अन्य प्रतिस्पर्धीसँग भिड्न कठिन हुने विश्लेषण गरिएको छ ।
समग्रमा, एमालेले गण्डकीमा नयाँ पुस्ताको चाहनालाई भन्दा पनि शक्ति सन्तुलन र पुराना अनुहारको व्यवस्थापनलाई नै प्राथमिकता दिएको देखिन्छ ।
लमजुङमा पृथ्वीसुब्बाको आठौँ ‘अग्निपरीक्षा’
एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ फेरि लमजुङबाटै प्रतिस्पर्धा गर्ने भएका छन् । २०४३ सालदेखि चुनावी राजनीतिमा रहेका गुरुङको यो आठौँ पटकको उम्मेदवारी हो । जेन्जी आन्दोलनपछि सत्ताच्युत भएका गुरुङका लागि यसपटकको निर्वाचन साख जोगाउने ठूलो चुनौतीका रूपमा हेरिएको छ, जहाँ रास्वपाले उनलाई कडा टक्कर दिने अनुमान छ ।
गोरखामा ‘चक्रे मिलन’ को इन्ट्री : आरसी लामिछाने पनि मैदानमा
एमालेको कमजोर मानिने जिल्ला गोरखा यसपटक सबैभन्दा बढी चर्चामा छ । गोरखा क्षेत्र नम्बर २ मा गुण्डा नाइकेको छवि बनाएका चक्रे मिलन (मिलन गुरुङ) लाई टिकट दिएर एमालेले नयाँ प्रयोग मात्र गरेको छैन, आलोचना पनि निम्त्याएको छ । ज्यान मार्ने उद्योगदेखि असुलीका घटनामा पटक-पटक मुछिएका मिलनलाई उम्मेदवार बनाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गोरखा १ मा भने युवा नेता आरसी लामिछानेले अवसर पाएका छन्, जो माओवादी र कांग्रेसको प्रभाव क्षेत्रमा एमालेको झण्डा जोगाउने कसरतमा हुनेछन् ।
पर्वतमा पदम गिरीको ‘ह्याट्रिक’ दाउ
पूर्वमन्त्री पदम गिरी पर्वतबाट तेस्रो पटक चुनावी मैदानमा उत्रिँदैछन् । अघिल्ला दुई निर्वाचन जितेर ह्याट्रिक गर्ने दाउमा रहेका गिरीका लागि यसपटक जिल्लाकै पुराना नेताहरूको असन्तुष्टि र नेकपाका युवा उम्मेदवार मनोहरी तिमिल्सिना मुख्य चुनौती बन्ने देखिन्छ ।
तनहुँमा भगवती र केदारको पुनरागमन
तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय सभा कार्यकाल सकिएलगत्तै भगवती न्यौपानेले प्रतिनिधि सभाको टिकट हात पारेकी छन् । रास्वपाका स्वर्णिम वाग्लेको प्रभाव रहेको यो क्षेत्रमा न्यौपानेका लागि जित निकाल्न फलामको चिउरा चपाउनु सरह हुनेछ । क्षेत्र नम्बर २ मा भने यसअघि पराजय भोगेका केदार सिग्देललाई नै एमालेले पुन: पत्याएको छ ।
स्याङ्जामा ‘लोकप्रिय’ उम्मेदवारको खोजी
एमालेले स्याङ्जामा भने केही सन्तुलित उम्मेदवार उठाएको दाबी गरेको छ । क्षेत्र नम्बर १ मा जनजाति समुदायमा लोकप्रिय मीनप्रसाद श्रेष्ठ र क्षेत्र नम्बर २ मा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई मैदानमा उतारिएको छ । थापाले पालिका अध्यक्षबाट राजीनामा दिएर संघीय निर्वाचन लड्ने तयारी गरेका छन् ।
नवलपुर: क्षेत्र नम्बर १ मा व्यवसायी भागीरथ सापकोटा र क्षेत्र नम्बर २ मा तिलबहादुर महत (तिलक) ले टिकट पाएका छन् ।
बागलुङ: क्षेत्र नम्बर १ मा हिराबहादुर केसी र २ मा मञ्जुदेवी शर्मा चालिसेलाई दोहोर्याइएको छ ।
म्याग्दी: अघिल्लो चुनावमा पराजित व्यवसायी हरिकृष्ण श्रेष्ठले नै पुन: अवसर पाएका छन् ।
मुस्ताङ र मनाङ: मुस्ताङमा पूर्व प्रदेश सांसद ईन्द्रधारा विष्ट र मनाङमा पुरानै अनुहार पोल्देन छोपाङ गुरुङलाई एमालेले प्रतिस्पर्धामा उतारेको छ ।