कास्कीमा अपराध न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन 

कास्कीमा अपराध न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन 

125 arested kaski police

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अपराध न्यूनीकरण, शान्ति सुरक्षा र नागरिक सेवालाई प्रभावकारी  बनाउन  पुस महिना विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ। अपराधका तथ्याङ्क विश्लेषण गर्दै बढी देखिएका अपराधका क्षेत्र पहिचान गरी सोहीअनुसार लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ।

सवारी दुर्घटना न्यूनीकरणलाई विशेष प्राथमिकतामा राख्दै दुर्घटना बढी हुने स्थानहरूमा यात्रु तथा पैदलयात्रीलाई लक्षित गरी SLC (Stop, Look & Cross) सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। साथै स्थानीय तह र विद्यालयसँग समन्वय गरी लागुऔषध, साइबर अपराध, लैङ्गिक हिंसा, आत्महत्या रोकथामलगायत विषयमा अनुशिक्षण प्रदान गरिएको छ।

शान्ति सुरक्षाका लागि पौष महिनामा पिकेट, चेकिङ, मोबाइल गस्ती, मोटरसाइकल गस्ती, ग्रामीण गस्ती, पैदल गस्ती र संयुक्त गस्ती गरी हजारौँ पटक प्रहरी परिचालन गरिएको छ। यस अवधिमा मात्रै २०४६ पिकेट, २३६८ मोटरसाइकल गस्ती र १५४० पैदल गस्ती सञ्चालन हुँदा २५ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालित भएको  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

सवारी दुर्घटनातर्फ पौष महिनामा १४ वटा दुर्घटना हुँदा ५ जनाको मृत्यु र १६ जना घाइते भएका छन्। तीव्र गति र मादक पदार्थ सेवन दुर्घटनाका मुख्य कारण रहेको प्रहरीले जनाएको छ। सवारी जाँचका क्रममा २९४७ वटा कारबाही गरी २५ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरिएको बस्नेतकाे भनाइ छ । विपद् व्यवस्थापनतर्फ ८ वटा आगलागी घटनामा करिब १ करोड ४१ लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणका लागि ३ वटा टिप्पर नियन्त्रणमा लिई स्थानीय तहमा कारबाहीका लागि पठाइएको छ भने वेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक बरामद गरिएको छ।

समुदाय र विद्यालय केन्द्रित गरी ८२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ४ हजार ६ सय भन्दा बढी नागरिक र विद्यार्थी सहभागी भएका छन्।  यसैबीच, प्रहरी कर्मचारीको मनोबल अभिवृद्धिका लागि “Run with Fun” कार्यक्रम, महिला प्रहरीसँग अन्तरक्रिया तथा विशेष तालिम सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आगामी दिनमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र नागरिकमैत्री सेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया