पोखरामा २६ औं आदर्श कप फुटबल हुँदै, विजेतालाई ४ लाख ११ हजार पुरस्कार

पोखरामा २६ औं आदर्श कप फुटबल हुँदै, विजेतालाई ४ लाख ११ हजार पुरस्कार

adarsh cup foot ball news photo

पोखरा । पोखराको  आदर्श युवा क्लबको आयोजनामा ‘२६ औं संस्करणको आदर्श कप’ फुटबल प्रतियोगिता  हुने भएको छ । शनिबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी क्लबले  माघ ९ गतेदेखि फुटबल हुन लागेको जानकारी दिएको हो । 

प्रतियोगिताका संयोजक ओमप्रकाश गुरुङका अनुसार यसपटकको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्ला र विभागिय टोलीसहित कुल ८ वटा टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की जिल्ला फुटबल संघ, तनहुँ जिल्ला फुटबल संघ, नेपाल प्रहरी (गण्डकी प्रदेश), सशस्त्र प्रहरी बल (मुक्तिनाथ बाहिनी), म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब (पर्वत) र होराइजन क्लब (स्याङ्जा) बीच प्रतिस्पर्धा हुनेछ ।

पुरस्कार राशीमा वृद्धि
यस वर्ष पुरस्कार राशीमा आकर्षक वृद्धि गरिएको छ । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेता टोलीले नगद २ लाख ११ हजार १११ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ हुने खेलाडीले ५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् भने अनुशासित टोलीलाई पनि ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

अनुमानित लागत र टिकट दर
प्रतियोगिता सम्पन्न गर्न करिब ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता अवलोकनका लागि क्वार्टरफाइनल र सेमिफाइनल चरणसम्म १ सय रुपैयाँ र फाइनल खेलका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको अध्यक्ष पदम गुरुङले बताए । आयोजकले सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै जेष्ठ नागरिक (सामाजिक सुरक्षा भत्ता लिने), सुरक्षाकर्मी, पत्रकार, निजामती कर्मचारी र सरकारी कर्मचारीलाई परिचयपत्रको आधारमा निशुल्क प्रवेशको व्यवस्था गरेको संयोजक गुरुङले जानकारी दिए । प्रतियोगितालाई फस्ट च्वाइस फुड्स लिमिटेडले मुख्य प्रायोजन गरेको छ ।  प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकास र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास क्लबले लिएको छ ।


प्रतिक्रिया