पोखराको बाराही माविको खेल मैदानमा भूकम्प गएपछि‍‍…

पोखराको बाराही माविको खेल मैदानमा भूकम्प गएपछि‍‍…

भुकम्प सम्बन्धी समाचार पोखरा फोटो २

पोखरा । माघको घमाइलो बिहान । पोखरा ५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयको खेल मैदानमा सबै सामान्य थियो । कोही गफगाफमा व्यस्त थिए, कोही आ–आफ्नो काममा । तर, अचानक एउटा ठूलो ‘साइरन’ बज्यो । जमिन हल्लिएको महसुस भयो । हेर्दाहेर्दै शान्त वातावरण कोलाहलमा बदलियो ।“भूकम्प आयो ! भूकम्प आयो !” भन्ने चिच्याहटले मैदान गुन्जियो ।

नजिकै बनाइएका घरका संरचनाहरू भत्किन र ढल्न थाले । हेर्नेहरूको मुटु ढक्क फूल्यो । केही व्यक्तिहरू भग्नावशेषमुनि पुरिए, केही घाइते अवस्थामा छटपटाउन थाले । दृश्य यति जीवन्त थियो कि लाग्थ्यो पोखराले ठूलो भूकम्पको सामना गरिरहेको छ । तर, यो वास्तविक भूकम्प भने थिएन । यो त २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित ‘कृत्रिम घटना अभ्यास’ थियो । जिल्ला विपद् व्यवस्थापन समिति, पोखरा महानगरपालिका र सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीको सहकार्यमा कृतिम घटना अभ्यास गरिएको हो ।

भूकम्प गएको केही मिनेटमै उद्धार टोली सक्रिय भयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको साथमा स्थानीय पनि उद्धार र खोजीमा सक्रिए भए । सुरक्षाकर्मी जवानहरू अत्याधुनिक उपकरणसहित घरमा फसेकाको उद्धारमा लागे । घाइतेहरूलाई स्ट्रेचरमा हालेर प्राथमिक उपचारका लागि कुदाइयो । विपद्को समयमा जनधनको क्षति कसरी कम गर्ने र खोज तथा उद्धार कार्यलाई कसरी तीव्र पार्नेका लागि गरिएको भूकम्प सुरक्षा सम्बन्धी कृतिम अभ्यासमा निकै प्रभावकारी ढंगले देखाइएको थियो । सामान्य बिहानबाट सुरु भएको कार्यक्रमले अन्त्यमा सबैलाई भूकम्प सुरक्षाको उपाय, सुरक्षित संरचना निर्माण र पूर्वतयारी नै बचावटको मुख्य आधार हो भन्ने पाठ सिकाएको थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल भूकम्पको दृष्टिले जोखिमपूर्ण रहेकाले यसप्रति पूर्व सचेतना अपनाउनु पर्ने बताउनुभयो । उहाँले पोखरा महानगरपालिकाले भवन निर्माण आचारसंहितालाई कडाइ गरेको बताउनुभयो । कृतिम घटना अभ्यासले जनतालाई व्यवहारिक ज्ञान दिने विश्वास उहाँको छ ।

कास्कीका जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेलले भूकम्प कुनै जानकारी दिएर नआउने हुनाले यसप्रति पूर्वतयारी र सचेतना महत्वपूर्ण हुने बताउनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कृतिम घटना अभ्यासले विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान दिने बताउनुभयो । उहाँले विपद्बाट हुने क्षति कम गर्नका लागि सुरक्षा निकाय, स्थानीय सरकार र समुदायबिचको सहकार्य आवश्यक भएको बताउनुभयो ।

यो कृत्रिम अभ्यासले आम नागरिकलाई विपद्को समयमा शान्त रहेर कसरी ज्यान जोगाउने र उद्धारमा कसरी जुट्ने भन्ने व्यावहारिक शिक्षा दिएको छ । कार्यक्रममा कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सेनाले भूकम्पबाट हुने क्षति न्यूनीकरणका साथै जनतालाई भूकम्प सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न यो कार्यक्रम गरिएको बताउनुभयो ।

कालिका गणमा रहेको क्षेत्रीय विपद् व्यवस्थापन टोली २४ घण्टा तयारी अवस्थामा रहने तिमिल्सेनाको भनाइ छ । उहाँका अनुसार कास्कीमा भएका विभिन्न विप्दका घटनामा यो टोली खटिने गरेको छ । कृतिम घटना अभ्यासमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी ४५ जना खटिएका थिए । कृतिम घटना अभ्यासलाई सडक हिडिरहेकाहरुले पनि चासो दिएर हेरेका थिए ।

प्रतिक्रिया