पोखरा । अधिकृत बिक्रेता संघ, पोखराको १०औं अधिवेशनले तेजेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा दिलीपकुमार श्रेष्ठ, उपाध्यक्षमा रवि सापकोटा, महासचिवमा राजेन्द्र श्रेष्ठ, उपमहासचिवमा ज्ञानेन्द्र गौतम, कोषाध्यक्षमा देवेन्द्र प्रजु तथा सह कोषाध्यक्षमा नवराज अधिकारी चुनिएका छन् । कार्यसमिति सदस्यमा, अमृत सापकोटा, बिजेन्द्र शर्मा पौडेल, सन्दीप भट्टराई, ध्रुवराज थापा , विनय राजभण्डारी छानिएका छन् । संघको बिधान अनुसार थप दुई सदस्यहरू पहिलो बैठकबाट मनोनित गर्ने प्रावधान रहेको छ ।
यसअघि अधिवेशनको उद्घाटन गदै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसकेको आरोप लगाए । उनले नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत व्यवसायीको योगदान रहेको भन्दै ८६ प्रतिशत रोजगारी , ७५ प्रतिशत कर व्यवसायीले नै तिर्दै आएका छन् भने अझैपनी व्यवसाय ढुक्कसँग गर्ने वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी वैशाखबाट महासंघको नेतृत्व आफूले सम्हाल्ने भन्दै आफ्नो नेतृत्वमा बृहत्त कार्ययोजना बनाएर व्यवसायीको हितमा अगाडी बढ्ने जानकारी दिए ।
उनले स्वदेशी उत्पादनलाई महत्व दिने कार्य योजना अगाडी सार्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि महासंघको पहलमा लगानी सम्मेलन र उच्च स्तरीय आर्थिक सुधार आयोग गठन भएको औँल्याउँदै उनले ब्यवसाय सुरक्षा, लगानीको वातावरण, उत्पादन क्षेत्रको सुधारमा केही सफलता हासिल गरे पनि पछिल्लो समय भदौ २३ र २४ गतेको जे न – जी आन्दोलनका कारण निजिक्षेत्र थला परेको जनाए । थला परेको निजी क्षेत्रलाई उकास्न व्यवसायिक सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
एक प्रसङ्गमा उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानसहित देशका प्रमुख शहरहरुमा नियमित हवाई उडान जोड्नु पर्ने तथा गण्डकी प्रदेशको आर्थिक तथा पर्यटकीय विकासमा कावासोती, भिमाद पोखरा सुरुङ्ग मार्ग निर्माण गर्न सक्ने हो भने पोखरा लगाएत यो प्रदेशको छिटो विकाश हुन सक्ने धारणा राखे । सबै विकाशका लागि र व्यवसायीहरुको हितका लागि सम्पूर्ण निजी क्षेत्र अनि व्यवसायीक एकता अपरिहार्य छ, सबै एक भएर अगाडि बढौं ,उनको सुझाब थियो ।
सभामा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्षा माधवप्रसाद बरालले पोखराको व्यापार, आपूर्ति प्रणाली तथा उपभोक्ता हितको संरक्षणमा अधिकृत विक्रेता संघले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नु भयाे । बदलिँदो बजार अवस्था, डिजिटल व्यापारको विस्तार र उपभोक्ताको बढ्दो अपेक्षाबीच विक्रेता र उत्पादकबीच पारदर्शिता, गुणस्तर र विश्वास कायम गर्नु आजको प्रमुख आवश्यकता भएको बरालकाे भनाइ छ । बरालले व्यवसायिक अनुशासन सुदृढ बनाउने, उपभोक्ता सचेतना अभिवृद्धि गर्ने र मिडियासँगको सहकार्य अझ मजबुत बनाउँदै लैजान सुझाव दिएका छन् । साथै पत्रकारिता सधैं सत्य, जिम्मेवारी र जनहितको पक्षमा उभिने स्पष्ट गर्दै सकारात्मक सहकार्यका माध्यमबाट स्वस्थ व्यापारिक वातावरण निमार्ण गर्ने बरालकाे भनाइ छ ।
कार्यक्रममा नेपाल वितरक महासंघका निवर्तमान अध्यक्ष हरिराज पन्त, अधिकृत विक्रेता संघ पोखराका संस्थापक अध्यक्ष गोविन्दप्रसाद कर्माचार्य, पोखरा उद्योग वाणिज्य संघ का अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी , नेपाल वितरक महासंघ गण्डकी प्रदेश अध्यक्ष बद्री ढुङ्गना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बाँस्तोला, हिमालयन एभरेष्ट ईन्स्योरेन्स गण्डकी प्रदेशका प्रमुख शिब सुबेदी, कम्युटर एशोसिएसन नेपाल कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिकृत बिक्रेता संघ पोखराका अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तेजेन्द्र पौडेलले धन्यवाद ज्ञापन तथा महासचिव दिलिपकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा अध्यक्ष मनोजकुमार श्रेष्ठले सहभागी सबैलाई स्वागत गर्दै तहस नहस बनेको निजी क्षेत्र ले पटक पटकका भारहरू थेग्न नसक्ने भन्दै सरकारले व्यवसायमा स्थिरता सुनिश्चित गर्न माग गरे । “ब्यवसाय शुरू गर्नु ठूलो कुरा होइन भन्दै अध्यक्ष श्रेष्ठले व्यवसायलाई सफल बनाउन चुनौती रहेको औंल्याय । अधिवेशनमा महासचिव दिलिपकुमार श्रेष्ठले प्रस्तुत गरेको महासचिवको प्रतिवेदन तथा कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।