पोखरा । कल्पना गर्नुहोस् त, तपाईं पोखराको सुन्दर दृश्य हेर्दै केवलकारमा सयर गर्दै हुनुहुन्छ र अचानक प्राविधिक कारणले केबलकार बीचैमा रोकिन्छ। वरिपरि भिर, मुनि गहिरो खोँच र तपाईं हावामा झुण्डिनुभएको छ! सुन्दा नै मुटु थर्कने यस्तो अवस्था आइलाग्यो भने के गर्ने?हो, यस्तै आपतकालीन अवस्थामा ‘देवदूत’ बनेर कसरी आउँछन् सुरक्षाकर्मी भन्ने एउटा प्रत्यक्ष नमुना पोखरा १८ को सिमतालमा देखियो। सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका गण कास्की र अन्नपूर्ण केबलकारको संयुक्त आयोजनामा एउटा ‘थ्रिलर’ फिल्मजस्तै लाग्ने ‘लाइभ रेस्क्यू सिमुलेसन’ (उद्धार अभ्यास) शुक्रबार गरियाे ।


किन गरियो त यो अभ्यास?
नेपालको भूगोल जति सुन्दर छ, त्यति नै चुनौतीपूर्ण पनि छ। कहिले भूकम्प, कहिले पहिरो त कहिले प्राविधिक गडबडी। केवलकारमा यात्रु अड्किएमा उनीहरूलाई ३ घण्टाभित्रै सुरक्षित जमिनमा ओराल्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। हाम्रा विशिष्ट पाहुना र पर्यटकहरूको सुरक्षामा कुनै सम्झौता नहोस् र हाम्रा जवानहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि ‘रेडि’ रहून् भनेर यो साहसपूर्ण अभ्यास गरिएको कालिका गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सेनाले बताए । कार्यक्रममा सशस्त्र प्रहरीले आफ्नो खुबी देखायाे । डोरीको सहायताले आकाशबाट मान्छे ओराल्ने (Rope Rescue) मा सशस्त्र प्रहरी कति अब्बल छ भन्ने कुरा प्रदर्शन गरियो। सशस्त्र प्रहरीको पछिल्लो ‘BIRD’ (Border, Internal Security, Revenue, Disaster) अवधारणा अन्तर्गत विपद् व्यवस्थापनलाई कति प्राथमिकता दिइएको छ भन्ने कुरा यो अभ्यासले प्रष्ट पारेको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका मेयर धनराज आचार्य र प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले सशस्त्र प्रहरीको यो काम देखेर मुक्तकण्ठले प्रशंसा गरे । “यस्तो तयारी देख्दा लाग्छ, हामी सुरक्षित छौं,” उहाँहरूको सार थियो। पर्यटन व्यवसायी, सुरक्षा अधिकारी र सञ्चारकर्मी लगायत करिब १२० जनाले अभ्यास प्रत्यक्ष हेरेका थिए । यो अभ्यासले पोखराको पर्यटन सुरक्षामा एउटा नयाँ इँटा थपेको मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले बताए ।
