काठमाडौैं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरीको भर्ना आवेदन खुलाएको छ । आवेदन दिने समय शुक्रबारदेखि १ माघसम्म तोकिएको छ । सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीका लागि केही दिनमै आवेदन खुलाउने तयारी गरेको छ । निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्दै छ । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तथा ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) खटाउने सरकारको तयारी छ ।
केन्द्रीय सुरक्षा समिति बैठकको निर्णयअनुसार निर्वाचन सुरक्षामा आ–आफ्ना जिम्मेवारी र अधिकारक्षेत्र तोकेर सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १ लाख ८८ हजार ३ सय ६३ जनशक्ति परिचालन गर्ने गरी सुरक्षा व्यवस्थापन खाका बनेको छ । नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जनशक्तिलाई ४० दिनको अवधि तोकेर ‘निर्वाचन प्रहरी’ का रूपमा छनोट गरी परिचालन गर्दै छ ।

प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाउने व्यवस्था गरेको छ । सशस्त्र प्रहरीले ७७ वटै जिल्लास्थित गण/गुल्म र तोकिएका स्थानबाट आवेदन दिन पाउने व्यवस्था गर्दै छ । निर्वाचन प्रहरी भर्ना छनोटका लागि सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति बनाइएको छ । भर्ना हुन दरखास्त गर्न पाउने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको हुनुपर्ने । निर्वाचन प्रहरीलाई प्रहरी/सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान र लत्ताकपडा तथा जवान सरहको रासनभत्ता दिइने व्यवस्था ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ मा उल्लेख छ ।