पोखरा । पहिलाे पटक पाेखरामा आयोजना गरिएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वर्षेनी गर्दै आएको अवार्डको २२औँ संस्करण हो । पोखरा सभाग्रहमा हुने अवार्ड कार्यक्रम दिउँसाे ३ बजे सुरु हुनेछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको पूर्वसन्ध्यामा मङ्गलबार स्पोर्टस समिटको आयोजना गरिएको थियो ।
मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो । मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताउनुभयो । उहाले भन्नुभयो, “कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ । अब हामी अवार्ड कार्यक्रमकै ब्यग्र प्रतीक्षामा छौँ । हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नुपर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौतीभन्दा बढी अवसर देखेका छौँ । मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तरराष्ट्रिय अवार्ड कार्यक्रमको गन्तव्य बन्ने छ ।” मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताउनुभयो ।

उहाले भन्नुभयो, “पोखरा सहर स्पोर्टस हबको रूपमा स्थापित हुँदै आएको छ । अब स्पोर्टस अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्र अझ विस्तृत र फराकिलो भएको छ ।” अवार्डमा पोखरा महानगरपालिका प्रवर्द्धक रहेको छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुप छ । यस्तै पावर्ड बाईमा यति एयरलाइन्सले साथ दिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । अवार्डमा यसपटक पनि १० विधामा अवार्ड प्रदान गरिनेछ ।
त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् । पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिञ्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् । यसपटकको कार्यक्रम पोखराको सभागृहमा आज आयोजना हुँदैछ ।
