पोखरामा अन्डरग्राउन्ड विद्युत् आयोजनाको प्रगति ६५ प्रतिशत

पोखरामा अन्डरग्राउन्ड विद्युत् आयोजनाको प्रगति ६५ प्रतिशत

3-pokhara-wire

पोखरा ।  पोखराको मुख्य व्यापारिक क्षेत्रलाई ताररहित बनाउने उद्देश्यसहित सुरु गरिएको विद्युत् तार भूमिगत गर्ने काम उल्लेखनीय चरणमा पुगेको छ । हालसम्म आयोजनाको ६५ प्रतिशत भौतिक प्रगति हासिल भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि सेतीपुलसम्मको खण्डमा विद्युत् तार जमिनमुनि गाड्ने काम सकिएको छ । बाँकी क्षेत्रहरूमा भने काम निरन्तर भइरहेको छ । पोखरा र भरतपुरलाई लक्षित गरी प्राधिकरणले सञ्चालन गरिरहेको ‘पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना’ अन्तर्गत यो परियोजना तीन वर्षदेखि अघि बढिरहेको हो ।

आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक, रत्नचोक, राष्ट्र बैंक चोक, शहिद चोक, लेकसाइड, हल्लन चोक, बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले तीव्र गतिमा काम भइरहेको छ । न्यूरोड क्षेत्रमा भने केही समयपछि काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।

“कुँडहर सवस्टेशनबाट लाइन विस्तार गर्दै पूर्वतर्फ विमानस्थलद्वार र पश्चिमतर्फ सेतीपुलसम्मको काम पूरा भइसकेको छ,” सुवेदीले भन्नुभयो, “केही स्थानमा लाइन चार्ज गर्न बाँकी छ भने अन्य क्षेत्रमा निर्माण तीव्र पारिएको छ ।” उहाँका अनुसार आगामी जुन ३१ सम्म आयोजनाको म्याद रहेकाले सो अवधिभित्र सबै काम सम्पन्न हुने विश्वास गरिएको छ ।

सन् २०२२ मा सुरु भएको यस परियोजनामा प्रारम्भिक चरणमा डिजाइन र भूगर्भ अध्ययनमा समय लागेकाले वास्तविक निर्माण कार्य एक वर्षपछि मात्रै सुरु भएको थियो । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक नखनी तार जमिनमुनि बिछ्याइएको र विभिन्न स्थानमा ट्रान्सफर्मर राखी उपभोक्तासम्म विद्युत् पुर्‍याइएको आयोजनाले जनाएको छ ।

यो आयोजना पूरा भएपछि अव्यवस्थित पोल र तारबाट पोखराले छुटकारा पाउने, साथै सहरी सौन्दर्यमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ । पोखराको २३ किलोमिटर क्षेत्रमा विद्युत् तार भूमिगत गर्न रु एक अर्ब ७० करोड लागतमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्ससँग ठेक्का सम्झौता गरिएको छ । उता भरतपुरमा भने ७४ प्रतिशत काम सकिएको र त्यहाँको लागत रु एक अर्ब ३० करोड रहेको छ ।

विद्युत् तार भूमिगत भएसँगै पोखरा महानगरपालिकाले इन्टरनेट र टेलिफोनका अव्यवस्थित तार व्यवस्थापनमा पनि चासो देखाएको छ । महानगर प्रमुख धनराज आचार्यले सेवा प्रदायकहरूलाई विद्युत् प्राधिकरणसँग समन्वय गरी अनावश्यक तार हटाउन पटकपटक आग्रह गरिएको बताउनुभयो । “बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहयोग नगरे महानगर आफैँले तार हटाउनेछ,” उहाँले स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया

भर्खरै