म्याग्दी । सडक निर्माणका क्रममा माटो मिसिएको गिट्टी प्रयोग गरी ढलान गरिएपछि जनप्रतिनिधिहरूले भत्काइदिएका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका–७ झिनडाँडामा दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत ह्युम पाइपको पर्खाल अडाउन पिसिसी ढलान गर्दा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएपछि अनुगमनमा पुगेका टोलीले सो ढलान भत्काउन लगाएका हुन्। स्थानीयवासीले निर्माण कार्यमा लापरबाही भएको गुनासो गरेपछि सोमबार गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगर प्राविधिक टोलीसहित निर्माणस्थल पुग्नुभएको थियो।

अनुगमनका क्रममा ढलानका लागि तयार पारिएको मसलामा सडक ग्राभेल गर्न कुटिएको बेस प्रयोग भएको भेटिएको थियो। प्रदेशसभा सदस्य जुग्जालीले भन्नुभयो, “गुणस्तरहीन काम भएको भेटिएपछि तत्कालै ढलान भत्काउन र मसला फाल्न लगाइएको छ।” निर्माण कम्पनीका प्रतिनिधिले मजदुरको लापरबाहीले गल्ती भएको स्वीकार गर्दै अब उप्रान्त मापदण्डअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि स्थानीय विश्वास कुमाईले गुणस्तरमा शङ्का लागेपछि भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै जनप्रतिनिधिलाई जानकारी गराउनुभएको थियो।
धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलका लागि ‘रामसागर बिके एस केबीएस धवलागिरि जेभी’ले रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता गरेको थियो। म्याग्दीको रणनीतिक महत्वको यस आयोजनाको हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको छ। यो सडक सम्पन्न भएपछि म्याग्दी, बागलुङ र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आउजाउ गर्न ७० किलोमिटर छोटो पर्नेछ।
