पर्वतको राम्जादेउरालीमा स्वास्थ्य जीवनशैली कार्यक्रम

पर्वतको राम्जादेउरालीमा स्वास्थ्य जीवनशैली कार्यक्रम

WhatsApp Image 2026-01-04 at 18.36.16

पर्वत । अस्पताल र औषधीले मात्र मानिस पूर्ण स्वस्थ रहन सक्दैन, त्यसका लागि हाम्रो दैनिक जीवनशैली र खानपान नै मुख्य कडी हो भन्ने सन्देशसहित पर्वतको मोदी गाउँपालिका–७, राम्जादेउरालीमा एक दिने स्वास्थ्य जीवनशैली कार्यक्रम भएको छ । प्रदेश आयुर्वेद चिकित्सालय, फलेवासको आयोजनामा  आइतबार यो कार्यक्रम आयोजना गरिएको हो ।

अहिलेको समयमा नसर्ने रोगहरूको जोखिम बढ्दै गएका बेला समुदायलाई सचेत बनाउन यो कार्यक्रम फलदायी देखिएको छ । कार्यक्रममा कसरी सात्त्विक जीवन बिताउने, ऋतुअनुसार कस्तो भोजन गर्ने र आफ्नै भान्सालाई कसरी औषधालय बनाउन सकिन्छ भन्नेबारे व्यावहारिक ज्ञान दिइएको थियो । चिकित्सालयका प्रमुख डा. किरण कमल बस्ताकोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष दुर्गा प्रसाद गौतम रहनुभएको थियो ।

सहभागीहरूलाई आयुर्वेदको महत्त्व बुझाउँदै डा. किरण कमल बस्ताकोटी, वरिष्ठ कविराज निरीक्षक नवीनकिरण भुसाल र कविराज निरीक्षक प्रकाशचन्द्र सुवेदीले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले दिनचर्यामा योग र ध्यानलाई कसरी जोड्ने, स्थानीय स्तरमा पाइने जडीबुटीको प्रयोग कसरी गर्ने र भान्सामा गरिने साना सुधारले कसरी ठूला रोगबाट बच्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिनुभएको थियो । वरिष्ठ कविराज निरीक्षक भुसालले कार्यक्रम सञ्चालन गर्दै विषयवस्तुको उठान गर्नुभएको थियो ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रका ३१ जनाको सक्रिय उपस्थिति थियो । जसमा पशुपति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षकहरू, स्थानीय जनप्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, होटल व्यवसायी तथा गृहिणीहरूको सहभागिता रहेको थियो । छलफलका क्रममा सहभागीको तर्फबाट बोल्दै स्थानीय समाजसेवी एवं पूर्व प्राध्यापक यदु पौडेल, नारायण गौतम र राम्जादेउराली स्वास्थ्य चौकीकी डा. मेरिना पाण्डेले कार्यक्रमको प्रशंसा गर्नुभयो ।

उहाँहरूले यस्तो उपयोगी जानकारी यसअघि विरलै प्राप्त भएको बताउँदै सिकेका कुराहरूलाई व्यवहारमा उतार्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रमपछि सहभागीहरूले भान्सा सुधार र स्वस्थ जीवनशैलीप्रति सकारात्मक चासो व्यक्त गर्दै यस्ता कार्यक्रमहरू समुदायस्तरमा निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । आयोजक प्रदेश आयुर्वेद चिकित्सालय, फलेवासले यस्ता कार्यक्रममार्फत समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।

कार्यक्रमको समापनमा आयोजक संस्थाका प्रमुख डा. बस्ताकोटीले यस्ता अभियानले गाउँ–गाउँमा स्वास्थ्य चेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीयले पनि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

भर्खरै