काठमाडौं, आगामी फागुन २१ गते तय भएको निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले जनशक्ति व्यवस्थापनको काम टुङ्ग्याएको छ । आयोगले ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।

आयोगले न्याय परिषद्को सल्लाहमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रूपमा खटाउने निर्णय गरेको छ । यसैगरी, न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका ८८ जना राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको छ ।
जिम्मेवारी पाएका यी अधिकृतहरू आगामी माघ २ गतेभित्र आफूलाई तोकिएको निर्वाचन क्षेत्रमा पुगिसक्नुपर्नेछ । सोही मितिभित्र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी उनीहरूले निर्वाचनका औपचारिक कार्यक्रम र प्रक्रियाहरू अगाडि बढाउने आयोगले जनाएको छ ।
