पोखरा –मुग्लिन सडक विस्तारमा सुधार देखिँदा अन्य खण्डमा सुस्तता

एडिबीको ऋणमा राजमार्ग विस्तार

 पोखरा –मुग्लिन सडक विस्तारमा सुधार देखिँदा अन्य खण्डमा सुस्तता

prithivi highway

पोखरा  एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा नेपालका प्रमुख राजमार्गहरू विस्तार गर्ने काम धमाधम भइरहे पनि कतिपय खण्डको प्रगति भने अझै सन्तोषजनक देखिएको छैन । केही स्थानमा निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् भने कतिपयमा निर्माण व्यवसायीलाई बारम्बार ताकेता गर्दा पनि कामले गति लिन सकेको छैन ।

आयोजना निर्देशनालय (एडीबी) का अनुसार सन् २०२५ मा लक्ष्यको ११२ प्रतिशत पुँजीगत खर्च हुनुले निर्माणको गति बढेको संकेत त गर्छ, तर बिजुलीका पोल र खानेपानीका पाइप सार्ने समस्याले अझै अवरोध सिर्जना गरिरहेको छ ।

पोखरा -मुग्लिनमा एउटा खण्ड सम्पन्न, अर्कोमा प्रगति 
आँबुखैरेनी–पोखरा सडक (८०.३३ किमि) अन्तर्गत आँबुखैरेनी–जामुने खण्डको ४०.५२१ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सनले जिम्मा लिएको यो खण्डमा १७ वटा पुल र १६८ वटा कल्भर्ट बनेका छन् । यही सडकको दोस्रो खण्ड (जामुने–पोखरा) मा भने हालसम्म ६५.५९ प्रतिशत मात्र प्रगति छ । ३८.७१ किमिको यो खण्डमा ३१.३ किमि चार लेन र ६.२ किमि दुई लेन सडक कालोपत्र भइसकेको छ । ठेक्का तोड्ने चेतावनीपछि यहाँ यानहुई काइयुआन हाइवे कम्पनीले कामको रफ्तार बढाएको छ । यस खण्डको म्याद २०८३ असारसम्म थपिएको छ ।

त्यस्तै, यही क्षेत्रमा पर्ने सेती पुलको ५४ प्रतिशत र मादी पुलको ७३.६७ प्रतिशत र विजयपुर खोला पुलकाे प्रगित करिब ७५ प्रतिसत छ । काम नसकिएपछि १६ असार २०८३ सम्म म्याद थपिएको छ ।  मुग्लिन–आँबुखैरेनी खण्डको स्तरोन्नतिका लागि फागुन दोस्रो साताभित्र ठेक्का आह्वान गर्ने तयारी छ । यहाँ मर्स्याङ्दी जलविद्युत् आयोजनाको संरचनाका कारण वारि र पारि २–२ लेनको सडक बनाइनेछ ।

नारायणगढ–बुटवल: दाउन्नेमा सास्ती, समग्रमा ७३ प्रतिशत प्रगति
विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको समग्र भौतिक प्रगति ७३.६०२ प्रतिशत पुगेको छ । ११३ किमिमध्ये करिब ८२ किमि सडक चार लेनमा कालोपत्र भइसकेको छ । यद्यपि, दाउन्ने खण्डको १४ किलोमिटरमा भने यात्रा अझै कष्टकर छ । पछिल्लो समय शीतलहर र हुस्सुका कारण सवारी साधन चिप्लिने समस्या भएपछि मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको  छ।  

पूर्व–पश्चिम राजमार्ग: कमला–कञ्चनपुर र काँकडभिट्टा–लौकहीको अवस्था
कमला–कञ्चनपुर खण्डमा निर्माण अवधि पटक–पटक थपिए पनि हालसम्म ६६.७२५ प्रतिशत मात्र भौतिक प्रगति छ । १५ अर्ब ६६ करोडको लागतमा निर्माणाधीन ८६.८२ किमि दूरीको यो सडकको जिम्मा चाइना रेलवे नम्बर २ ले लिएको छ ।

यस्तै, एसियन हाइवेअन्तर्गत काँकडभिट्टादेखि सुनसरीको लबिपुरसम्म ९५.७६ किमि सडक विस्तारको समग्र प्रगति २८ प्रतिशत मात्रै छ । तीन प्याकेजमा बाँडेर काम भइरहेको यो खण्डमा ६ वटा लामा पुलसहित ६ लेन र ४ लेनका सडक बन्नेछन् । यस खण्डको काम २०८३ माघभित्र सक्नुपर्ने सम्झौता छ । आयोजनाका अनुसार जामुने–पोखरामा सुधार आए पनि काँकडभिट्टा–लौकही र कमला–कञ्चनपुर खण्डमा भने अपेक्षाअनुसार काम हुन सकेको छैन । निर्माण सामग्री र उपयोगिताका संरचना स्थानान्तरणमा ढिलाइ हुनुलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

भर्खरै