कास्कीमा अनलाइन ठगीको डरलाग्दो रूप: एक वर्षमै १९ करोड गुम्यो, सचेत रहन एसपी कार्कीको आग्रह

कास्कीमा अनलाइन ठगीको डरलाग्दो रूप: एक वर्षमै १९ करोड गुम्यो, सचेत रहन एसपी कार्कीको आग्रह

news 19 (3)

पोखरा। कास्कीमा अनलाइन ठगीको जालो भयावह बन्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार पछिल्लो एक वर्षमा मात्रै जिल्लाभित्र अनलाइनमार्फत १९ करोड रुपैयाँभन्दा बढी ठगी भएको छ ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको २२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै एसपी कार्कीले यो तथ्याङ्क सार्वजनिक गरेका हुन् । अनलाइन ठगीको प्रकृति निकै जटिल बन्दै गएको भन्दै उनले यसलाई नियन्त्रण गर्न प्रहरी, सामुदायिक प्रहरी र स्थानीय नागरिकबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिए ।एसपी कार्कीका अनुसार अनलाइन ठगीमा परेर उजुरी दिनेहरूमा शिक्षित र जान्ने–बुझ्ने व्यक्तिहरूकै सङ्ख्या धेरै छ । प्रलोभनमा परेर मानिसहरूले आफ्नो जीवनभरको कमाइ गुमाइरहेको भन्दै उनले एउटै व्यक्तिबाट १ करोड २१ लाख रुपैयाँसम्म ठगी भएको घटना प्रहरीमा दर्ता भएको जानकारी दिए ।

“घर छेउको छिमेकीलाई समस्या पर्दा सय–दुई सय सापट दिन हिचकिचाउनेहरूले सामाजिक सञ्जालमा चिनजान नै नभएका अपरिचित व्यक्तिलाई विश्वास गरेर लाखौं रुपैयाँ सुम्पिरहेका छन्,” एसपी कार्कीले भने, “सस्तो प्रलोभनमा फस्दा जान्ने–बुझ्ने नै बढी ठगिएका छन्, यसमा सबै सचेत हुन जरुरी छ ।” कार्यक्रममा एसपी कार्कीले पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा बढ्दो सवारी चाप र ट्राफिक जामप्रति पनि चिन्ता व्यक्त गरे । यसको समाधानका लागि पर्यटन व्यवसायी, प्रहरी र समुदायले सामूहिक छलफल गरी निकास निकाल्नुपर्ने उनले बताए ।

यसैगरी, पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल संरक्षणका लागि वडा कार्यालयले विशेष पहल गरिरहेको बताए । तालमा थुप्रिएको माटो निकाल्ने काम अगाडि बढिरहेको जानकारी दिँदै उनले विकासका काममा हुने कानुनी अड्चन र मुद्दा मामिलाले कतिपय आयोजनाहरू ढिलो हुने गरेको गुनासो गरे ।

एकजुट भएर अघि बढ्न जोड
साधारण सभामा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, वातावरण संरक्षण महाअभियानका संयोजक रामबहादुर पौडेल र महिला सञ्जाल पोखरा–६ की अध्यक्ष बबिता मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यलाई रोक्न र तालको अस्तित्व जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाका अध्यक्ष ठाकुर बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष अनिल थापाले स्वागत मन्तव्य राखेका थिए । सभाले महासचिव शान्ता तिमिल्सिना र कोषाध्यक्ष निर्मला थापाद्वारा प्रस्तुत वार्षिक तथा आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया

भर्खरै