पुस २९ देखि पोखरा महोत्सवको १४औँ संस्करण हुँदै, आम्दानीबाट छात्रबास बनाइने

पुस २९ देखि पोखरा महोत्सवको १४औँ संस्करण हुँदै, आम्दानीबाट छात्रबास बनाइने

pokhara mahotsav pressmeet4

पोखरा। युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुस २९ गतेदेखि १४ औँ संस्करणको ‘पोखरा महोत्सव’  हुने भएको छ । पोखराको अमरसिंह माध्यमिक विद्यालयको विशाल खेल मैदानमा आयोजना हुने यो महोत्सव माघ ११ गतेसम्म चल्नेछ ।

“युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मूल नाराका साथ वि.सं. २०६७ मा स्थापना भएको युनाईटेड क्लबले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सवको मुख्य उद्देश्य पोखरा–२७ अर्चलेमा विपन्न परिवारका बालबालिकाका लागि निर्माणाधीन ‘युनाइटेड छात्रबास’लाई पूर्णता दिनु रहेको छ ।

क्लबले पोखरा २७ अर्चललेमा युनाईटेड छात्राबास निर्माण गर्न लागेको क्लबका पूर्वअध्यक्ष राजु श्रेष्ठले बताए । महोत्सवबाट हुने आम्दानीले भवन निर्माण गरिने उनको भनाइ छ । अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले विद्यालयको गतिविधिमा असर नपुग्ने गरि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । क्लबले विद्यालयलाई विभिन्न सहयोग गरेको बताउँदै विद्यालयको जग्गा संरक्षणमा पनि सहयोग गरेको कोइरालाले बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले उद्देश्यकेन्द्रित कार्यक्रम आयोजना गर्न आग्रह गर्दै कार्यक्रमको उद्देश्य पुरा भए नभएकोप्रति आयोजकले आत्ममुल्यांकन गर्न आवश्यक रहेको बताए । उनका अनुसार कार्यक्रमले व्यवसायलाई साँच्चै चलायमान बनाएको छ कि छैन, स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा कति योगदान पुगेको छ भन्ने जस्ता पक्षमा आयोजकले गहिरो ध्यान दिन जरुरी छ ।क्लबले यस महोत्सवलाई सफल बनाउन सम्पूर्ण पोखरावासी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूलाई अपिल गरेको छ । पत्रकार सम्मेलन क्लबका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा भएको थियाे ।

सामाजिक कार्यमा महोत्सवको लगानी
प्रचार–प्रसार उपसमितिका संयोजक दिनेश सुनारले महोत्सवको आम्दानीबाट हालसम्म पोखरा क्षेत्रका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो । क्लबले पर्यटन प्रवद्र्धनअन्तर्गत पचभैयामा खुला चिडियाखाना निर्माणको पहल र सेती नदीका खोँचहरूलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने अभियानलाई पनि अगाडि बढाएको छ । यस वर्ष महोत्सवबाट बचत हुने रकमको ठूलो हिस्सा निर्माणाधीन २० कोठे छात्रबास भवनमा खर्च गरिनेछ । हालसम्म ३ वटा कोठा निर्माण सम्पन्न भइसकेको र आगामी शैक्षिक सत्रदेखि छात्रबास सञ्चालनमा ल्याउने लक्ष्य राखिएको क्लबले जनाएको छ ।

आकर्षण र स्टलहरू
१३ दिनसम्म चल्ने महोत्सवमा कुल २५० वटा स्टलहरू रहनेछन्, जुन सबै बुकिङ भइसकेका छन् । महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको कुल आम्दानी १ करोड ५१ लाख ७५ हजार र खर्च १ करोड २३ लाख ६० हजार रुपैयाँ हुने अनुमान गरिएको छ, जसबाट करिब २८ लाख १५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवमा औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, कृषि प्रदर्शनी र स्थानीय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तुहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ । साथै, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता र विज्ञान प्रदर्शनी समेत आकर्षणका रूपमा रहनेछन् ।

कलाकारहरूको ओइरो
महोत्सवको सांस्कृतिकतर्फ प्रकाश सपुत, बद्री पंगेनी, शान्तिश्री परियार, प्रीति आले, सम्झना लामिछाने मगर, प्रमोद खरेल, अस्मिता अधिकारी लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ । यस्तै, लाइभ कन्सर्टतर्फ सविन राई, भिटेन, लाहुरे, पूर्ण राई, डी मर्चा जस्ता ब्याण्ड र गायकहरूले दर्शकलाई मनोरञ्जन दिनेछन् ।

निःशुल्क प्रवेशको व्यवस्था
महोत्सवमा फरक क्षमता भएका व्यक्ति, वृद्धभत्ता कार्ड भएका ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक, पत्रकार र ५ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड सन्नी इण्डष्ट्रिज (बेटर होम एप्लायन्सेस) र सह–प्रयोजकमा सिटीजन फर्निचर रहेका छन् ।  

प्रतिक्रिया

भर्खरै