आठौं वार्षिकोत्सवको अवसरमा सहभागी प्रमुख अतिथि लगायत ।
पोखरा । नेपालमा अनुशासित र राष्ट्रप्रेमी युवा जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापित राष्ट्रिय सेवा दल (NCC) को तालिम लिएका भूतपूर्व क्याडेटहरूको संगठन ‘एन.सि.सि. अल्मुनाई एशोसिएसन’ (NCCAA) गण्डकी प्रदेशले आफ्नो स्थापनाको ८ औँ वर्षतर्फको यात्रामा सामाजिक सेवा र राष्ट्रिय एकताको एउटा बलियो खम्बाको रूपमा आफूलाई उभ्याएको छ। यो एसोसिएसन नेपाली सेनाको फूलबारी ब्यारेक भित्र रहेको छ ।

२०७६ साल वैशाख १५ गते नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टर, विजयपुरमा एक ऐतिहासिक बैठकका साथ यसको जग बसालिएको थियो। तत्कालीन पृतनापति उपरथी काजी बहादुर खत्रीको आतिथ्यतामा सुवेदार अन्डर अफिसर (SUO) उर्मिला श्रेष्ठलाई निर्देशक पदमा चयन गरेसँगै गण्डकी प्रदेशमा यो संस्थाले औपचारिक स्वरूप पाएको थियो। यसले विगत ८ वर्षमा गरेका कामहरुको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

विपद् व्यवस्थापन र सुरक्षामा सक्रियता
स्थापना कालदेखि नै यो संस्थाले क्याडेटहरूलाई विपद्को समयमा कसरी परिचालन गर्ने भन्नेमा विशेष ध्यान दिएको छ । २०७६ सालमा आयोजित ८ दिने ‘DREE’ (Disaster Response Exercise & Exchange) तालिम होस् वा पोखराको सीताराम हाउजिङमा गरिएको आगलागी नियन्त्रण सम्बन्धी पूर्व-अभ्यास (Pre-Demo), अल्मुनाईहरूले आफ्नो सैन्य अनुशासनलाई व्यवहारमा उतारेका छन्। निर्देशक उर्मिला श्रेष्ठको नेतृत्वमा क्याडेटहरूले विपद्का बेला कसरी एकजुट भएर काम गर्ने भन्ने सीपलाई समुदायसम्म पुर्याउँदै आएका छन्।


कोभिड-१९: संकटको बेला सारथीविश्वव्यापी महामारी कोभिड-१९ को समयमा जब मानिसहरू घरभित्रै सीमित थिए, एन.सि.सि. अल्मुनाईका सदस्यहरू आफ्नो ज्यानको प्रवाह नगरी सडकमा खटिए। लकडाउनको समयमा ७५० भन्दा बढी जनसमुदायलाई सचेतना फैलाउने, मास्क र स्यानिटाइजर वितरण गर्ने र “लकडाउन अन्त्य भएको हो, कोरोनाको होइन” भन्दै प्ले-कार्डसहित जनचेतना जगाउने कार्यमा यो संस्थाले अग्रणी भूमिका खेल्यो। रगतको अभाव मेटाउन ७६ युनिट रगत संकलन गरी रेडक्रसलाई हस्तान्तरण गर्नुका साथै केदारेश्वर मन्दिरका बटुकहरूलाई खाद्यान्न र फलफूल वितरण गरेर मानवीय सेवाको उत्कृष्ट नमुना पेश गरे।
पर्यावरण र सामाजिक उत्तरदायित्व
गण्डकी प्रदेशलाई हरियाली बनाउन अल्मुनाईको योगदान बिर्सिन सकिँदैन। भगवतीदल गण, सेती दोभान व्यारेक र विभिन्न सार्वजनिक स्थलहरूमा गरी कुल २ हजार ८ सय ७६ वटा विभिन्न प्रजातिका बिरुवाहरू वृक्षारोपण गरिएको छ। जसमा निर्देशक उर्मिला श्रेष्ठ आफैँले १ सय ३६ वटा बर-पिपल र समीका बिरुवाहरू उपलब्ध गराउनुभएको थियो। यति मात्र होइन, भलामस्थित महेन्द्र माविको १९ रोपनी जग्गामा झाडी फडानी गरी कृषि अनुसन्धान केन्द्र स्थापना गर्न क्याडेटहरूले गरेको श्रमदानले स्थानीय स्तरमा ठूलो प्रशंसा पाएको छ।
कला, संस्कृति र खेलकुदमा सहभागिता
पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुदमा ६५ जना क्याडेटहरूले खुकुरी ड्रिल प्रदर्शन गर्नुका साथै १५ दिनसम्म स्वयंसेवकको रूपमा खटिएर खेलकुदको गरिमा बढाएका थिए। यसका साथै, लोप हुन लागेको ऐतिहासिक ‘बाघ जात्रा’ र ‘तायमचा’ प्रतियोगिता जस्ता सांस्कृतिक कार्यक्रमहरूमा ५७ जना भन्दा बढी क्याडेटहरूले भीड व्यवस्थापन र सुरक्षामा सहयोग पुर्याएका थिए।
मन्दिर र ऐतिहासिक स्थलको संरक्षण
केदारेश्वर मन्दिर, विन्ध्यवासिनी मन्दिर, भद्रकाली र तालबाराही मन्दिर परिसरमा समय-समयमा गरिने सरसफाई अभियानले धार्मिक पर्यटनमा समेत टेवा पुर्याएको छ। विशेषगरी श्रावणको सोमबार र बडादशैँको समयमा क्याडेटहरूले देखाएको स्वयंसेवा भावले भक्तजनहरूलाई निकै सहज बनाएको थियो।
प्रविधि र नेतृत्व विकास
समयको माग अनुसार संस्थाले प्रविधिलाई पनि आत्मसाथ गरेको छ। लकडाउनको बेला प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठसँगको ‘जूम’ (Zoom) संवाद र विभिन्न अनलाइन तालिमहरू मार्फत क्याडेटहरूको हौसला बढाउने र अनुभव साटासाट गर्ने काम भयो।
स्थापना दिवस र भविष्यको बाटो
प्रत्येक वर्ष पुस ९ गते संस्थाले आफ्नो स्थापना दिवसलाई भव्य रूपमा मनाउँदै आएको छ । पोखरामा हुने प्रभातफेरी र सांस्कृतिक कार्यक्रमहरूमा पश्चिम पृतनाका पृतनापति लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ । एसोसिएसनले आठौं वार्षिकोत्सव पनि मनाएको छ । पश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी भोलानाथ थापाको प्रमुख आतिथ्यतामा गत पुस ९ गते मनाएको हो ।

निर्देशक उर्मिला श्रेष्ठको कुशल नेतृत्व र नेपाली सेनासँगको निरन्तर समन्वयका कारण आज गण्डकी प्रदेश एन.सि.सि. अल्मुनाई एशोसिएसन एउटा जुझारु युवा दस्ताको रूपमा स्थापित भएको छ। “एकता र अनुशासन” को मूल मन्त्रलाई जपेका यी क्याडेटहरू आज केवल तालिम प्राप्त युवा मात्र होइनन्, समाजका हरेक सुख-दुःखमा उभिने भरपर्दा सारथी बनेका छन्। आगामी दिनमा पनि यो संस्थाले राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
