पाेखरा सडक महोत्सव पुस १३ देखि, तयारी अन्तिम चरणमा

पाेखरा सडक महोत्सव पुस १३ देखि, तयारी अन्तिम चरणमा

Street-Fest-Tayari-Pura-Photo-scaled

पोखरा । अंग्रेजी नयाँ वर्षको स्वागत गर्न पोखराको लेकसाइड अब फेरि उत्सवमय बन्दैछ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले आइतबारदेखि सुरु हुने २७ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ को सबै तयारी पूरा गरेको छ । पुस १३ देखि १७ गतेसम्म चल्ने यो महोत्सवले फेवाताल किनारको साढे ३ किलोमिटर सडकलाई झिलिमिली पार्नेछ ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने पुरानै तर लोकप्रिय नाराका साथ आयोजना हुन लागेको यो महोत्सवको रौनक यसपालि अलि फरक हुनेछ । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले शुक्रबार पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिए । उनका अनुसार जेन–जी आन्दोलन र आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्रलाई जुरुक्क उठाउन यो महोत्सवले एउटा नयाँ ऊर्जा दिनेछ । ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वभर पु¥याउनु नै महोत्सवको मुख्य लक्ष्य रहेको पौडेलले बताए ।

महोत्सवमा यसपालि सांगीतिक माहोल निकै तातिएको छ । सबैभन्दा रोचक कुरा त ३ दशकपछि ‘एक्स–नेपथ्य’ का पुराना सारथिहरू रविन श्रेष्ठ र गौतम गुरुङ एउटै मञ्चमा गुञ्जिनेछन् । कोमागाने पार्कमा हुने ‘हिट्स अफ नाइन्टिज’ कार्यक्रममा उनीहरूसँगै डी–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाइभ ब्यान्डमार्फत दर्शकलाई नचाउनेछन् । यस्तै काठमाडौंबाट विशेष प्रस्तुतिका लागि आस्मा विश्वकर्मा, स्वप्न सुमन, केहर एन्ड द लुंगा र चक्र ब्यान्ड आउने आयोजकले बताएका छन् ।

महोत्सवका संयोजक वसन्त गौतमका अनुसार सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन पाइनेछ । सांस्कृतिक झाँकी, मौलिक भेषभूषा, र ‘रोधी’ को मौलिक प्रस्तुतिले महोत्सवलाई थप रमाइलो बनाउनेछ । खेलकुद प्रेमीका लागि ‘बोट रेस’, ‘वेटर रेस’ र ‘टग अफ वार’ जस्ता प्रतियोगिता पनि राखिएका छन् । पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता र स्कुल ब्यान्डहरूको भिडन्त समेत हुने गौतमले जानकारी दिए ।

महोत्सवमा मनोरञ्जन मात्र होइन, सचेतनामूलक सडक नाटक र पोखराको पर्यटनबारे ‘टक शो’ पनि चल्नेछ । पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ सँग हात मिलाउँदै आयोजना गरिएको यो महोत्सवले लाखौं पर्यटक भित्र्याउने र आर्थिक मन्दीलाई बिर्साउने अपेक्षा गरिएको छ । नयाँ वर्षको यो साता लेकसाइडको सडकमा रमाउन आयोजकले सबैलाई खुल्ला निम्तो दिएका छन् ।

प्रतिक्रिया

भर्खरै