राष्ट्रिय सभा निर्वाचनमा दुई हजार ४३ मतदाता

राष्ट्रिय सभा निर्वाचनमा दुई हजार ४३ मतदाता

elecation aayog

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको ११ माघमा हुने निर्वाचनका लागि दुई हजार ४३ प्रारम्भिक मतदाता कायम गरेको छ । प्रारम्भिक नामावलीमा जाँचबुझ गरी २२ पुसमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यसूची छ । राष्ट्रिय सभाका १८ सिटका लागि ११ माघमा चुनाव हुँदै छ । फागुन २० मा रिक्त हुने १९ मध्ये एक सिटमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

आयोगले निर्वाचनका लागि बुधबार प्रकाशन गरेको प्रारम्भिक मतदाता नामावलीमा प्रदेश सभा सदस्य ५ सय ४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा दुई हजार ४३ जना छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

प्रवक्ता नारायण भट्टराईका अनुसार उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । आयोगका अनुसार स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यमध्ये अदालतको आदेशबमोजिम पदमुक्त भएका एकजना र निलम्बनमा परेका चारजना गरी कुल पाँचजना प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एकजना र निलम्बनमा रहेका सातजना गरी कुल आठजना स्थानीय तहका पदाधिकारीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।

६ दल खारेज, दलको संख्या १३७ कायम
निर्वाचन आयोगले ६ दलको दर्ता खारेज गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ (४) बमोजिम जरिवाना नबुझाउने ६ राजनीतिक दलहरूको दर्ता ऐनको दफा १२ बमोजिम खारेज गरिएको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपाल खारेज भएका छन् । अयोगमा कुल १४३ दल दर्ता रहेकोमा ६ खारेज भएसँगै दलको संख्या १३७ कायम भएको छ । एजेन्सी ।

प्रतिक्रिया