काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांकले गएको पाँच महिनामा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको देखाएको छ । यससँगै मंसिरसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४५.६६ प्रतिशत हो ।

गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १ अर्ब ६३ करोड (जीडीपीको २१.३१ प्रतिशत) र बाह्य १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ (जीडीपीको २४.३५ प्रतिशत) रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ । गएको पाँच महिनामा १ खर्ब ७५ अर्ब १२ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ६७ अर्ब १ करोड ऋण भुक्तानी गरिएको छ । भुक्तानी गरिएको कुल रकममध्ये १ खर्ब ३८ अर्ब ३० करोड रुपैयाँ साँवा र बाँकी २८ अर्ब ७० करोड रुपैयाँ ब्याजका लागि खर्च भएको देखिन्छ ।

सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ । यसकारण उक्त अवधिमा उठाइएको १ खर्ब ७५ अर्ब १२ करोड रकममा साँवा भुक्तानीमा खर्च भएको १ खर्ब ३८ अर्ब ३० करोड रुपैयाँ घटाइन्छ । त्यसरी आउने रकममा विदेशी मुद्राको विनिमय दरमा परिवर्तन आउँदा भएको ७७ अर्ब ६६ करोड जोड्दा गएको पाँच महिनामा करिब साँवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको देखिन्छ ।
