कांग्रेसपछि रास्वपा रोज्दै कुमार खड्का, कास्कीको राजनीतिमा नयाँ तरंग

 कांग्रेसपछि रास्वपा रोज्दै कुमार खड्का, कास्कीको राजनीतिमा नयाँ तरंग

kumar khadka

 पोखरा । कास्कीको राजनीतिमा बेला बेलामा चर्चामा आइरहने  पात्रमध्येमा कुमार खड्का पर्छन् । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका खड्का समय–समयमा पार्टी परिवर्तन र धारिलो भूमिकाका कारण चर्चित हुँदै आएका छन् । नेपाली कांग्रेसप्रति आकर्षित हुँदै नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका उनी इन्जिनियरिङ अध्ययन संस्थान, लामाचौरको स्ववियु सभापति बनेपछि केही वर्ष बेलायत बसे ।

माओवादी शान्ति प्रक्रिया र संविधान सभामार्फत जातीय पहिचानसहितको संघीयताको बहस चर्किँदै गएपछि खड्का बेलायतबाट फर्किएर त्यसको विरोधमा पोखरामा सक्रिय भए । खस–क्षेत्री समुदायलाई संगठित गर्दै अघि बढेका उनले अखण्ड नेपाल पार्टी स्थापना गरे । दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिकतर्फ ३६ हजार ८८३ मत पाउँदै पार्टीले एक सिट हासिल गर्‍यो र खड्का स्वयं सांसद बने । २०७३ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीसमेत बने ।

संघीय प्रणाली कार्यान्वयनसँगै २०७४ को निर्वाचनअघि अखण्ड नेपाल पार्टीलाई नेपाली कांग्रेसमा विलय गराइयो । त्यसपछि खड्का कांग्रेसबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद बने र २०७८ जेठ २९ गते कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी पाए ।

तर २०७९ को निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (ख) बाट टिकट नपाएपछि पार्टीभित्रको द्वन्द्व चर्कियो । आफ्नै पार्टीका उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री नेपालीले उनलाई मन्त्रीबाट बर्खास्त गरे । पछि नेपाली कांग्रेसले खड्कालाई एक वर्षका लागि साधारण सदस्यतासमेत नरहने गरी निस्कासन गर्‍यो । कांग्रेसबाट अलग भएपछि खड्काले अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोज्ने निर्णय गरेका छन् । ‘कांग्रेसलाई नै राजनीतिक केन्द्र मानेको थिएँ, तर निस्कासनपछि विकल्प खोज्न बाध्य भएँ,’ उनले भने ।

सक्रिय राजनीति नगर्ने र नेपाली का‌ंग्रेसको कार्यकर्ता भएर बस्ने साेचमा बसेका बेला कांग्रेसले साधारण सदस्य  पनि नरहने गरी कारबाही गरेपछि एक पल्टलाई सक्रिय राजनीति गर्ने गरी रास्वपा जान लागेको उनकाे भनाइ छ ।

“रविजी गृहमन्त्री हुँदा करिब साढे २ वर्ष अघि नै पनि छलफल भएको थियो । नेपाली कांग्रेसबाट रास्वपा गएका मेरा साथी शुभचिन्तकले पनि रास्वपा आउन आग्रह गर्नुं भएकै थियो,”उनले भने,“नेपाली कांग्रेसले म माथि अन्यायपूर्ण निर्णय गरेर रास्वपा जाने वातावरण बन्यो ।”रास्वपाका उपसभापति स्वर्णीम वाग्लेलगायत नेताहरूसँग छलफलपछि निर्णयमा पुगेको उनको भनाइ छ । पोखरा–१६ बाटुलेचौरमा राम्रो पकड बनाएका खड्का पुस १९ गते रास्वा सभापति रवि लामिछानेको उपस्थितिमा पाेखरामा प्रवेश गर्ने तयारी छ । उनको यो कदमले कास्कीको राजनीतिक समीकरणमा फेरि नयाँ बहस र हलचल ल्याउने अनुमान गरिएको छ

प्रतिक्रिया

भर्खरै