“पर्वत, बागलुङलगायत सिङ्गो धवलागिरि र प्रदेशमा महत्त्वपूर्ण धार्मिक सम्पदा र तीर्थस्थल छन्”, उहाँले भन्नुभयो, “प्रकृति र संस्कृतिले पनि यो क्षेत्र धनी छ, यिनको विकासमा सबैले हातेमालो गर्न जरुरी छ ।” मन्त्री बस्यालले ‘भारत–नेपाल टुरिज्म मिट’ सन्दर्भमा भएको प्रवर्द्धनात्मक भ्रमणले यस क्षेत्रमा भारतीय धार्मिक पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले यस्ता कार्यक्रमले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने र पर्यटनलगायत क्षेत्रमा साझेदारी र सहकार्यका अवसर सिर्जना हुने बताउनुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रेम भट्टराईले नेपाल–भारतबीच पर्यटन क्षेत्रका सम्भावना र अवसर पहिल्याउनका लागि कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले नेपालमा धेरै पर्यटक पठाउने भारतीय टुर अपरेटर कम्पनी भ्रमणमा सहभागी रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत भारतीयमाझ यहाँका गन्तव्यस्थलको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरू पनि भ्रमणमा सहभागी रहेकाले पर्यटन गन्तव्य प्रवर्द्धनमा थप टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो । होटल व्यवसायी महासङ्घ, गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बागलुङका गन्तव्यस्थलको प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भारतीय पर्यटकलाई यहाँका धार्मिक गन्तव्यस्थलमा आकर्षित गर्न सके पर्यटनले ठूलो फड्को मार्ने धारणा राख्नुभयो । भारतको उत्तर प्रदेशको पर्यटन विभागका सहनिर्देशक दिनेशकुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कालिका भगवती मन्दिर अवलोकनकमा क्रममा उक्त मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष निशान खड्काले मन्दिरको इतिहासबारे जानकारी गराउनुभएको थियो । उहाँका अनुसार पाँच सय वर्ष पुरानो कालिका भगवती यस क्षेत्रकै प्रसिद्ध धार्मिकस्थल हो । यस्तै, बागलुङ नगरपालिका–४ कुँडुलेमा अवस्थित शालिग्राम सङ्ग्रहालयबारे सङ्ग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी गराउनुभएको थियो । सुरुङभित्र बनेको संरचनामा सवा लाख शालिग्राम सङ्ग्रह गरिएका छन् । शालिग्रामलाई हिन्दु धर्मवालम्बीले विष्णु भगवान्का रुपमा पूज्ने गर्छन् । उक्त अवसरमा कालीगण्डकी सभ्यता र मुक्तिक्षेत्रको महिमाबारे पनि चर्चा गरिएको थियो । पर्वतको मोदीवेणी धाम र त्यहाँ रहेको नृसिंह भगवान्को मन्दिरबारे मन्दिर गुठीका अध्यक्ष केशवदास बैरागीले जानकारी गराउनुभयो । विसं १८९० मा स्थापना गरिएको उक्त मन्दिर वैष्णव समुदायको पवित्र तीर्थस्थलका रूपमा परिचित छ ।
पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा सहकार्यमा आयोजित गन्तव्य प्रवद्र्धन कार्यक्रम सोमबारदेखि सुरु गरिएको थियो । उक्त टोलीले सुनौली नाका हुँदै चितवनको सौराहा आएको थियो । मङ्गलबार तनुहँको बन्दीपुर हुँदै कास्कीका विभिन्न क्षेत्रसहित बेगनासको प्रवर्द्धनात्मक भ्रमण गरिएको थियो । आज बिहान पोखराको पुम्दीकोट भ्रमण गर्ने कार्यक्रम रहेको आयोजक पोखरा पर्यटन परिषद्ले जनाएको छ । आज साँझ पोखरामै दुवै देशका सरकारी प्रतिनिधि, टुर अपरेटर, व्यवसायीलगायतको उपस्थितिमा दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’को आयोजना हुने परिषद्का महासचिव सापकोटाले जानकारी दिनुभयो ।