पोखरा । पोखरा महानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस मनाउँदै छ । विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको प्रमाण भेटिएपछि महानगरले यसै वर्षदेखि आजको दिनलाई स्थापना दिवसका रूपमा मनाउन लागेको हो । यसअघि फागुन २७ गते स्थापना दिवस मनाउने गरिएको थियो ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार अभिलेख हेर्दा २०१६ पुस २ गते ५ हजार जनसंख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको पाइएको छ । सोही आधारमा आज दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा आज बिहान पोखराको चिप्लेढुङ्गाबाट बृहत् सांस्कृतिक झाँकी र र्यालीसहितको प्रभातफेरि निकालिनेछ । प्रभातफेरि पोखरा सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।
यस्तै, समारोहमा महानगरमा कार्यरत कर्मचारीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जनालाई पुरस्कृत गरिनेछ । महानगरका ३३ वडामध्ये सरसफाइमा उत्कृष्ट हुने ३ वटा वडा र महानगर मातहतका कार्यालयमध्ये उत्कृष्ट कार्यालयलाई पनि सम्मान गर्ने कार्यक्रम छ ।

महानगरले समयमै र सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदाता र उमेरको ज्येष्ठताका आधारमा ज्येष्ठ नागरिकलाई ‘महानगर मातापिता’ सम्मान प्रदान गर्नेछ । स्थापना दिवसका अवसरमा आज महानगरपालिका र मातहतका कार्यालयहरूको नियमित सेवा प्रवाह बन्द रहनेछ । मूल समारोहमा भाग लिन पोखरासँग भगिनी सम्बन्ध कायम भएका स्वदेशी तथा विदेशी नगरका प्रतिनिधि, देशभरका महानगर र उपमहानगरका प्रमुखहरू तथा छिमेकी पालिकाका प्रमुखलाई निम्तो गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले जानकारी दिए ।
विसं २०१६ पुस २ गते नगरपालिकाका रूपमा स्थापना भएको पोखरा २०५२ माघ १८ गते उपमहानगरपालिका बनेको थियो । २०७३ फागुन २७ गते साविकका ५ गाविस र लेखनाथ नगरपालिकासहित गाभिएर पोखरा लेखनाथ महानगरपालिका घोषणा भएको थियो । पछि २०७५ साउन २३ को मन्त्रिपरिषद् निर्णयले यसको नाम पोखरा महानगरपालिका कायम गरेको हो ।