पोखरा । टुर दी पोखराको आठौं संस्करणको जर्सी सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हस्तान्तरण गरेर जर्सी सार्वजनिक गरिएको आयोजक संस्था साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइक्लिङ’ भन्ने मूल नारासहित ‘८औं टुर दी पोखरा’ पुस ५ गते शनिबार हुनेछ । उक्त कार्यक्रमका लागि आयोजकले नाम दर्ता खुला गरेको छ ।
कार्यक्रम संयोजक रामचन्द्र भट्टका अनुसार सहभागिताका लागि विभिन्न समूहमा फरक–फरक शुल्क निर्धारण गगरिएको छ । पोखरा र्यालीभित्र साइकल यात्रा (महिला/पुरुष) का लागि १ हजार रुपैयाँ, आवासीय साइकल यात्रा (पुरुष) का लागि २ हजार ५ सय रुपैयाँ, आवासीय साइकल यात्रा (महिला तथा १६ वर्ष मुनि) का लागि १ हजार ५ सय, ६० वर्षमाथिका पुरुष साइक्लिस्टलाई आवासीयको शुल्क २ हजार रुपैयाँ तोकिएको छ । अपांगता भएका र ७० वर्ष माथिका सहभागीका लागि दर्ता शुल्क लाग्ने छैन ।
कार्यक्रममा ५० वर्ष नाघेका महिला र ६० वर्ष नाघेका पुरुष साइक्लिस्टहरूलाई ट्रफीबाट सम्मान गरिने आयोजकले जनाएका छन् । त्यस्तै, सबभन्दा कम र बढी उमेरका सहभागीहरूलाई पनि सम्मान गरिनेछ । आफ्नो जीवनकालमा साइकल यात्राका क्रममा कठिन यात्रा सम्पन्न गरेकाहरूलाई विशेष सम्मान गरिने अध्यक्ष श्रेष्ठले बताए । आमन्त्रित स्वदेशी एवं विदेशी सहभागीहरूका लागि पुस ४ गते आवास मात्र र पुस ५ गते खाजा, खाना र आवाससहित रात्रिभोज एवं सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ । पुस ६ गते बिहानको खाजापछि बिदाई गरिने छ।
संयोजक भट्टका अनुसार सहभागी हुन चाहनेले यही मंसिर २५ गतेभित्र नाम दर्ता गराइसक्नुपर्नेछ । दर्ताका लागि सहभागीले आफ्नो नाम, ठेगाना, वर्ष, रक्त समूह, ज्याकेट साइज, सम्पर्क नम्बर र कुनै संघसंस्थामा आबद्ध भए सोको जानकारी अनिवार्य उपलब्ध गराउनुपर्नेछ । साइकल र्याली पोखराको सभागृहचोकबाट बिहान साढे ६ बजे सुरु हुनेछ । आयोजकका अनुसार साइकल यात्रीको दुर्घटना बीमा समेत गरिएको छ ।
श्रेष्ठले इन्धन खर्च नहुने, स्वास्थ्य तथा वातावरणमैत्री हुने भएकाले साइकलको महत्व दिनानुदिन बढ्दै गएको बताए । ‘हामी टुर दी पोखरा लाई पोखराको ब्रान्ड बनाउन र सहरलाई साइकल सिटीका रूपमा अघि बढाउन प्रयत्नरत छौं,’ उनले भने ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा साइकल सिटी पोखराका वरिष्ठ सल्लाहकार आनन्दराज मुल्मीले ‘टुर दी पोखरा’ लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यमा आफूहरू क्रियाशील रहेको बताए । ‘साइकल सिटी जीवन्त राखिए मात्रै पोखरा पनि जीवन्त रहन्छ,’ उनले भने ।