मङ्सिर । नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मास्क लगाएर आएका दुई जनाले उनीहरुलाई घरभित्रै ६ घण्टा बाँधेर लुटपाट गरेका हुन् । उनीहरुले आइफोन मोबाइल एक थान र रेडमि मोबाइल दुई थान र सुनका बाला लुटेका परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घरका अन्य सामान भने चोरी नभएको बताइएको छ ।
प्रहरीका अनुसार सिसीटिभी फुटेजमा दुई जना मास्क लगाएका मान्छे देखिएका छन् । प्रहरीले उनीहरु ज्यान मार्ने उद्देश्यले आएको आशङ्कामा अनुसन्धान तीव्र पारेको नेपालले बताउनुभयो । साँझ ७ बजेदेखि बन्धक बनाइएकोमा राति १ बजेतिर हारगुहार मागेपछि उनीहरु भागेका थिए । पीडित खड्काका अनुसार उनीहरुले वृद्ध बुवा आमा, श्रीमती, छोराछोरी र बहिनीसमेतलाई नियन्त्रणमा लिई आफूहरु सामाजिक अभियन्ता भएको र स्थानीय मिटरब्याजीहरुको खोजी र कारबाहीका लागि आएको भन्ने आशय व्यक्त गरेका थिए ।
उनीहरुको धाकधम्कीका कारण आफूहरु डराएको र लामो समयपछि आफ्नो टाउकोमा मुक्काले हानेपछि परिवारका सबैले एकसाथ प्रतिकार गर्दा मोबाइल र श्रीमतीको सुनको बाला लुटेर भागेको खड्काले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय नवलपुरबाट झण्डै १ किलोमिटरको मात्र दूरीमा झिसमिसो साँझमा भएको उक्त घटनापछि त्रासको वातावरण सिर्जना भएको स्थानीय कपिलदेव भुसालले बताउनुभयो ।