निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि २० वटा निवेदन परेको छ। आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार जेनजी आन्दोलनअघि ९ र त्यसपछि ११ वटा निवेदन परेको हो।
उज्यालो नेपाल पार्टी, गतिशिल लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी, राष्ट्रिय जेन्जी पार्टी नेपाल, कम्युनिस्ट पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल, जनयुग पार्टी, हाम्रो पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी र ऊर्जाशील पार्टीले जेनजी आन्दोलनपछि आयोगमा दर्ताको लागि निवेदन दिएका छन्।
बलेको चिम चुनाव चिह्न लिएर ज्ञानबहादुर तामाङले उज्यालो नेपाल पार्टी दर्ताको निवेदन दिएका हुन्। आयोगका अनुसार गतिशील लोकतान्त्रिक पार्टीका दिनेश राज प्रसाइँ, राष्ट्रिय परिवर्तन पार्टीका अजय कुमार राई, नेपाल लिभरल पार्टीका गोपीलाल न्यौपाने र राष्ट्रिय जेन्जी पार्टीका हिरा प्रसाद सेती मुख्य व्यक्ति हुन्। यी दलले क्रमशः दिपज्योती, बाँसुरी, सिक्का र क्रस खुकुरी चुनाव चिह्न माग गरेका छन्।
यसैगरी, नेत्र विप्लव चन्द विप्लवले कम्युनिस्ट पार्टी नेपाल नामक दल दर्ताका लागि निवेदन पेश गरेका छन्। नागरिक उन्मुक्ति फुटेर बनेको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ जाँतो चुनाव चिह्न लिएर कविर सोपको नेतृत्वमा दर्ता निवेदन परेको हो। जनयुग पार्टी नवराज सुवेदी र हाम्रो पार्टी नेपाल खगेन्द्र सुनारको नेतृत्वमा दर्ताको निवेदन परेको हो। नेपाली कम्युनिस्ट पार्टी प्रचण्ड–माधव नेपाल नेतृत्वमा छ भने योगेन्द्र मण्डलले उर्जाशील पार्टी दर्ता निवेदन दिएका हुन्।
जेनजी आन्दोलनअघि ९ वटा दल दर्ताका लागि आयोगमा निवेदन आएका थिए। जसमा मंगोल नेसनल अर्गनाइजेसन, किराँत मोर्चा नेपाल, नेपाल गाउँसहर जागरण दल, स्वतन्त्र युवा पार्टी, नेपाल समृद्धि पार्टी, विद्यार्थी शक्ति अभियान पार्टी, रामराज्य परिषद्, अखिल नेपाल हिन्दु महासभा, नेपाली पार्टी छन्। यी दलहरूको आवश्यक कागजात नपुगेको र कतिपय सम्पर्कमा पनि नआएको आयोगका सूचना अधिकारी सुमन घिमिरे बताए।