३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं १३ औं क्यान इन्फोटेक मंसिर १७ देखि २१ गतेसम्म हुने

३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं १३ औं क्यान इन्फोटेक मंसिर १७ देखि २१ गतेसम्म हुने

205f846d-3f73-40cc-92a6-eb9c3881649b

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले आउँदो मंसिर १७ देखि २१ गतेसम्मको लागि घोषित ‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८२,पोखरा एवं १३ औं क्यान इन्फोटेक २०८२ को तयारी सुरु गरेको छ ।

सङ्घका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक गोकर्ण कार्कीका अनुसार पोखरा ९,प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ । सङ्घले मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना,पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्‍याउने उद्देश्यमा समर्पित गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।

अध्यक्ष कार्कीले यो पटकको मेला गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यही उपक्रममा भएको ध्वंशात्मक गतिविधिले पीडित निजी क्षेत्रलाई थोरै भए पनि ढाडस दिन,उद्योग/व्यवसायलाई पुनः लयमा फर्काउन एवं आम नगारिकको दुःख बिर्साउने उद्देश्यमा समर्पित रहेको बताए ।

‘जेन–जीको पवित्र आन्दोलनमा अवान्छित तत्वबाट निजी क्षेत्रमाथि भएको आक्रमणले खस्किएको निजी क्षेत्रको मनोवल उकास्न तथा क्षतिपूर्तिका लागि सरकारबाट भएका प्रयत्नले उत्साह जगाएको छ । नीतिगत निर्णय गर्ने काम सरकारकै हो तर हामी हात बाँधेर बस्न सक्दैनौँ,’उनले भने,‘आम नागरिकको दुःख भुलाउन,उद्योग व्यवसायलाई लयवद्ध तुल्याउन केही त गर्नैपर्छ । यही भावनाले अभिप्रेरित हुँदै तथा सशस्त्र द्वन्द्वकालको परिस्थिति सम्झँदै पोखरा उद्योग वाणिज्य सङ्घले आउँदो मंसिर १७ देखि २१ गतेसम्मको लागि मेला तय गरेको हो ।

उनले यो मेला दुःख बिर्साउन, निजी क्षेत्रको एकता र शक्ति प्रदर्शन गर्न एवं ध्वंशात्मक गतिविधिलाई सदाको लागि निषेधको आह्वान गर्ने यज्ञ हुने जिकिर पनि गरे । ‘ध्वंश भएको छ तर हामी उठ्ने सामर्थ्य राख्छौँ र कर्मबाट च्यूत हुँदैनौँ भन्ने सन्देश प्रवाह गर्र्नु पनि हाम्रो यो मेलाको पुनितः उद्देश्य रहने छ,’उनले थपे ।

मेलाका प्रायोजक व्यवस्थापन उपसमिति संयोजक तथा सङ्घका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेला सफल बनाउन उद्योग प्रतिष्ठानहरुबाट सहयोगको प्रतिवद्धता आउन थालेको बताए । उनका अनुसार पोखरा महानगरपालिकाको संरक्षकत्वका आयोजना हुने मेलाले व्यवसाय प्रवर्द्धनको अवसरसमेत सिर्जना गर्ने भएकाले सहयोगीहरुले सहकार्यको हात अगाडि बढाएका हुन् ।

संघकी महासचिव शोभा गौतमका अनुसार ३४ औं संकरणको मेलामार्फत् उद्योग व्यवसाय क्षेत्रको समुचित विकासका साथै स्वदेशी उत्पादनहरुको निर्यात प्रवर्द्धन एवं आन्तरिक बजार सुदृढीकरण र आयात प्रतिस्थापन गरी समग्र गण्डकी प्रदेशको उद्योग व्यवसायको प्रवर्द्धन र उद्यमशिलता विकासको लक्ष्य पनि लिइएको छ । मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशिलता विकासको थलो बनाउनकै लागि यसपटक समयावधि घटाएर ५ दिनको बनाइएको उनको भनाइ छ ।

प्रतिक्रिया

भर्खरै