प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न १० जना पक्राउ

प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न १० जना पक्राउ

Kaski-Police-DPO

पोखरा । कास्की जिल्लामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न १० जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार गत भदौ २४ गतेको  जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी नयाँपुलमा तोडफोड र आगजनी गरी हातहतियार लुटपाट गर्ने, हतियार आगोमा जलाउने जस्ता गतिविधिमा संलग्न रहेको प्रमाण फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय, कास्कीका  सूचना अधिकारी हिरबहादुर बस्नेतका अनुसार पक्राउ परेकामध्ये जिल्ला प्रहरी कार्यालयमा हातहतियार लुटपाट तथा जलाउने कार्यमा संलग्न ४ जना, वडा प्रहरी कार्यालय बगरमा हतियारको थुप्रो लगाई आगो लगाउने १ जना र प्रहरी चौकी नयाँपुलमा आगजनी गर्ने ५ जना गरी जम्मा १० जना पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्तिहरु :
१. राजेश मक्रान्ती (२४ वर्ष) – धादिङ त्रिपुरासुन्दरी–४, हाल पोखरा–४ मानव अधिकार चोक
२. नारायण साई (५४ वर्ष) – पोखरा–४ अधिकारी मार्ग
३. अरुण वि.क. (२२ वर्ष) – पोखरा–११ फुलवारी
४. रुपेश मगर (४१ वर्ष) – पोखरा–१ कसेरी
५. दिपु साई (४३ वर्ष) – पोखरा–१ मोहरिया टोल
६. लङबहादुर नेपाली (४७ वर्ष) – अन्नपूर्ण–५ नयाँपुल
७. अरविन वि.क. (१९ वर्ष) – अन्नपूर्ण–५ नयाँपुल
८. ग्रिस क्षेत्री (२२ वर्ष) – अन्नपूर्ण–६ हाईजुङ
९. थमबहादुर सार्की (६२ वर्ष) – अन्नपूर्ण–५ नयाँपुल
१०. पुर्णबहादुर नेपाली (४२ वर्ष) – अन्नपूर्ण–५ नयाँपुल

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूमाथि अपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी सम्मानित कास्की जिल्ला अदालतबाट थप ६ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। प्रहरीले आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्ने, सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने र आतंक फैलाउने व्यक्तिहरूमाथि कडा कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया