पोखरा एभेन्जर्सद्धारा एनपिएलको ट्रफी पोखरामा सार्वजनिक

पोखरा एभेन्जर्सद्धारा एनपिएलको ट्रफी पोखरामा सार्वजनिक

gandaki

पोखरा । नेपाली प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सहभागी पोखरा एभेन्जर्सले आगामी प्रतियोगिताको ट्रफी पोखरामै विशेष समारोह बीच सार्वजनिक गरेको छ ।

कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले यसपटकको लिगमा जित्ने लक्ष्यसहित आन्तरिक तयारी गरेको जानकारी दिनुभयो। उहाँले “सपना देखेर क्रिकेटमा लगानी गरेको” भन्दै केही वर्षमा यसको प्रतिफल देखिने विश्वास व्यक्त गर्नुभयो। पहिलो संस्करणमा अपेक्षित नतिजा नआए पनि त्यसबाट पाठ सिक्दै यसपटक समयमै खेलाडी प्रशिक्षण सम्पन्न गरिएको उहाँको भनाइ थियो।

त्रिपाठीका अनुसार गण्डकी प्रदेशका ४ जना खेलाडी सहित विदेशी खेलाडीसमेत टिममा समावेश हुने तयारी भएको छ । उहाँले गण्डकी प्रदेशका क्रिकेटप्रेमी तथा आम नागरिकलाई पोखरा एभेन्जर्सलाई साथ र सहयोग गर्न आग्रह गर्नुभयो। “ग्रासरुटदेखि क्रिकेटको विकास गरी आफ्नै खेलाडी उत्पादन गर्दै विश्वकप जित्ने सपना लिएका छौं,” अध्यक्ष त्रिपाठीले भन्नुभयो।

कार्यक्रममा नेपथ्य ब्याण्डका भोकलिष्ट अमृत गुरुङले “कुनै पनि काम पूरा गर्नुअघि सपना देख्न आवश्यक हुन्छ” भन्दै पोखरा एभेन्जर्सलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले संयुक्त प्रयास भए यसपटक टिमले राम्रो नतिजा ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो। पोखरा एभेन्जर्सका ब्रान्ड एम्बासडर संजिव क्षत्रीले टिमको तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै “यो वर्ष एभेन्जर्सको प्रदर्शन उत्कृष्ट हुनेछ र प्रदेशबासीलाई गर्व हुने नतिजा आउनेछ” भन्नुभयो।

८ टोली सहभागी एनपिएल क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि काठमाडौंस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने भएको छ ।अन्नपूर्ण आधार शिविरबाट पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गर्ने तयारी गरिए पनि प्रतिकुल मौसमले गर्दा उच्च हिमाली भेगमा हिमपात र पोखरा क्षेत्रमा मंगलबार बिहानै देखि पानी परेकोले अर्को दिनमा उक्त कार्यक्रम गरिने आयोजकले जनाएको छ । उक्त अवसरमा दुई जना सामाजिक अभियान्ताहरुलाई सम्मान गरिएको छ । कोभिडको समय देखि सडकमा रहेका कुकुरलाई नियमित रुपमा खाना खुवाउदै आउनु भएको झरना नेपाली र सामाजिक अभियान्ता यूटुवर सम्राट थापा मगरलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया