पोखरा । पोखरा महानगरपालिकामा प्लास्टिकका फूल र माला (गुच्छा)को बिक्री–वितरण क्रमशः कम हुँदै गएको छ। महानगरले चार वर्षअघि प्लास्टिकजन्य फूल–मालाको बिक्रीमा रोक लगाएको निर्णयको कार्यान्वयन प्रभावकारी बन्दै गएपछि बजारमा यसको प्रयोग घटेको पाइएको हो।
महानगरको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले हालै सहरका करिब १० वटा फूलसम्बन्धी पसलको अनुगमन गर्दा केही ठाउँमा थोरै मात्रामा प्लास्टिकका माला फेला परे पनि अधिकांश पसलमा यस्तो सामग्री भेटिएन। थोरै मात्रामा भेटिएका प्लास्टिकका माला पुराना खरिद भएको र अब नराख्ने भन्दै व्यवसायीले थन्क्याएको समितिलाई जानकारी गराए।
उपप्रमुख तथा अनुगमन समितिकी संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनले स्थानीय फूलको प्रयोगमा उत्साहजनक वृद्धि भएको देखिएको छ। गुरुङले प्लास्टिकको प्रयोग रोक्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन भएको बताउँदै यसले पोखरामा स्थानीय फूलको उत्पादन र उपयोग बढेको जनाइन्।
तिहारलाई लक्षित गर्दै महानगरले स्थानीय फूलको प्रवद्र्धनका लागि किसान बजारमार्फत बिक्री व्यवस्था मिलाएको छ। बिक्रीका लागि २५ स्थान तोकिएको छ भने किसानलाई फूल उत्पादनमा उत्साह दिन अनुदानसमेत दिइएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए।
कडरियाका अनुसार अनुगमनका क्रममा करिब १०० वटा प्लास्टिकका माला जफत गरिएको छ र यो वर्ष विगतका तुलनामा बजारमा प्लास्टिकका फूल–मालाको उपस्थिति न्यून छ। ‘आयातित फूलको विकल्पमा स्थानीय उत्पादनले आत्मनिर्भरता हासिल गर्न थालेको छ,’ कडरियाले भने। महानगरपालिकाले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लास्टिकजन्य फूल र गुच्छाको बिक्री, वितरण तथा भण्डारण निषेध गर्दै नेपाल राजपत्रमार्फत सूचना जारी गरेको थियो। सोही कानुनी व्यवस्था अनुसार प्लास्टिक प्रयोग गर्ने र गराउने विरुद्ध निगरानी र कारबाही भइरहेको महानगरले जनाएको छ।
महानगरले नगरवासीलाई वातावरणमैत्री व्यवहार अपनाउँदै प्लास्टिकजन्य माला–फूलको प्रयोग नगर्न तथा स्थानीय फूललाई प्राथमिकता दिन आह्वान गरेको छ। अनुगमनमा अटेर गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइएको समितिले जनाएको छ।