गण्डकी प्रदेश सभाको बैठक असोज २२ मा कृषि मन्त्रालयको हलमा बस्ने 

गण्डकी प्रदेश सभाको बैठक असोज २२ मा कृषि मन्त्रालयको हलमा बस्ने 

pradesh-sabha-building ११

पोखरा । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन र सचिवालय जलेर प्रयोगयोग्य नबनेपछि गण्डकी प्रदेशसभाको आगामी बैठक नयाँ स्थलमा बस्ने भएको छ । असोज २२ गते दिनको १ बजे  बाेलाइएकाे बैठक मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने तय भएको हो ।

प्रदेशसभाका सचिव गोविन्द पौडेलले असोज १८ गते जारी गरेको सूचनामा भदौ २५ गतेका लागि तोकिएको बैठक विशेष कारणले स्थगित गरिएकोमा अहिले सभामुखले नयाँ मिति र स्थान निर्धारण गर्नुभएको उल्लेख छ । सचिवालयका अनुसार यो सूचना प्रदेशसभा नियमावली, २०८० को नियम ६ (२) बमोजिम जारी गरिएको हो ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा प्रदेशसभा हलमा प्रदर्शनकारीले आगजनी गर्दा भवन र सचिवालय पूर्णरूपमा ध्वस्त भएका थिए । आगलागीले सभाहलभित्रका ध्वनि प्रणाली, काठका संरचना, सिसा, कागजात र अभिलेखसमेत जलेर नष्ट भएका थिए । त्यसपछि सचिवालयका धेरैजसो प्रशासनिक काम अस्थायी रूपमा विभिन्न मन्त्रालयका कोठाबाट सञ्चालन हुँदै आएका छन् । स्राेतका अनुसार   सभामुख कृष्णप्रसाद धितालले वैकल्पिक हलमा बैठक बसाल्न निर्देशन दिएका थिए ।

सुरक्षा निकाय र प्राविधिक टोलीको सिफारिसपछि मालेपाटनको मन्त्रालय भवनलाई अस्थायी रूपमा उपयुक्त ठहर गरिएको सचिवालयले जनाएको छ । जिल्ला समन्वय समितिको हल, स्वास्थ्य तालिम केन्द्र र पशुपंक्षी विकास निर्देशनालयको हल पनि विकल्पका रूपमा अध्ययन गरिएको थियो । मालेपाटनस्थित हलमा ध्वनि प्रणाली, बैठक व्यवस्था र सुरक्षा तयारीका केही काम बाँकी रहेका छन्, जुन बैठकअघि पूरा गरिने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै