कब्जामा लिएको १५ मिनेटमै प्रदर्शनकारीले ध्वस्त बनाएका थिए गण्डकी प्रदेशसभा भवन

कब्जामा लिएको १५ मिनेटमै प्रदर्शनकारीले ध्वस्त बनाएका थिए गण्डकी प्रदेशसभा भवन

pradesh-sabha-building

जलेर ध्वस्त भएको गण्डकी प्रदेश सभा भवन ।

अनुप पौडेल /कास्की । संघीय संसद् भवन र पोखरा महानगरपालिकाको कार्यालय आगजनी भएपछि गण्डकी प्रदेशसभामा निकै त्रास फैलिएको थियो । बिहान कार्यालय समयमा हाजिर भएका कर्मचारी दिउँसो ३ बजेतिर क्यान्टिनमा थिए । यो समय करिब ३ सयको संख्यामा जनपद र सशस्त्र प्रहरी गेटमा तैथान थिए । त्यसैले प्रदर्शनकारीले आगजनी र तोडफोड गर्लान् भन्ने कर्मचारीले कल्पना नै गरेका थिएनन् । प्रदर्शनकारीले प्रवेश गर्ने प्रयास गरिरहे पनि प्रहरीले रोकेको थियो ।

सुरक्षा जोखिम देखेर भदौ २४ को बिहान ९ बजेदेखि नै सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । त्यो दिन बिहानैदेखि सुरक्षाकर्मी खटिएकाले ८० जनालाई क्यान्टिनमै सचिवालयले खानाको व्यवस्था गरेको थियो । प्रहरी पनि रहेको र २/४ जना आएमा सम्झाइबुझाइ गर्ने सोचमा कर्मचारीहरु बसेका थिए । तर, दिउँसो ४ बजेतिर माथिबाट आदेश आएको भन्दै प्रहरी निस्किए । त्यसपछि प्रदर्शनकारी गेटबाट भित्र पसेर आगजनी र तोडफोड थालेको सचिवालयमा कार्यरत अधिकृत झनकराज अधिकारीले सम्झिए । ‘त्यस्तै पौने ४ जति बजेको थियो । हामी क्यान्टिनमै थियौं,’ उनले सुनाए, ‘प्रहरीले ब्याक हुन आदेश आयो भनेर छोडेपछि प्रदर्शनकारी भित्र छिरे । हामी पछाडि पर्खालबाट भाग्यौं ।’

कर्मचारी भागेको देखेपछि हातमा रड बोकेका युवाहरु पछिपछि पुगे । अधिकृत टीकाराम आचार्यको कठालो नै समाते । आफूलाई ‘ठेकेदारको मान्छे’ भन्दै दुई जना युवाले केरकार गरेको उनले सुनाए । हालको प्रदेशसभा भवन पछाडिपट्टि नयाँ प्रदेश सभा भवन निर्माणाधीन छ । त्यसैको आडबाट कर्मचारी भागेको देखेपछि ती युवाले पछ्याइरहेका थिए । ‘मैले कर्मचारी हो भनेँ । तैँले ढाँटिस्, कति भ्रष्टाचार गरेको छस् भन्न थाले,’ उनले सम्झिए, ‘मोबाइलको ग्यालेरी हेरे, त्यहाँ भएको नम्बरमा फोन गरे । एक जना हाम्रै सचिवालयको मिसले हाम्रो सर हुनुहुने हो भनेपछि बल्ल रोकिए ।’ यसपछि पर्स मागे । वास्तविक जेन–जीले लुटपाट गर्दैन भनेर भट्टराईले ती युवालाई सम्झाए । यसपछि उनी ती दुई युवकबाट छुट्कारा पाएर निस्किए ।

घटनाको दिन दुई सय जनाजति आएको भट्टराईले सुनाए । त्यसरी आएकाले छुट्टाछुट्टै समूहमा बाँडिएर प्रदेशसभा र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवनमा आगजनी थाले । प्रदेशसभा सचिवालय, बैठक कक्ष, संसदीय दलका कार्यालय, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको नयाँ र पुरानो भवन, आसपासका आवास, क्यान्टिन, सवारी एकपछि अर्को गर्दै प्रदर्शनकारीले आगजनी गरे । कब्जामा लिएको करिब १५ मिनेटमा प्रदर्शनकारीले प्रदेशसभा परिसरका सबै भवनमा आगजनी गरेर भ्याएका थिए । ३३ वर्षपहिले निर्माण भएकाले प्रदेश सभा परिसरका सबैजसो भवनमा काठ धेरै प्रयोग भएका छन् । काठले गर्दा आगो दन्किरहृयो । आगो दन्किरहँदा प्रदर्शनकारी कोही सीसीटीभी तोडफोड, कोही लुटपाटमा व्यस्त थिए । प्रदेशसभाका भवनमा खरानी नहुँदासम्म आगो दन्किरहृयो ।

प्रदेशसभाका कम्प्युटर, प्रिन्टर, पुस्तकदेखि फूलसम्म चोरी भएका छन् । यो आन्दोलनका कारण प्रदेशसभाले करिब ९० करोड रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ । चोरी भएका कुनै सामान फिर्ता आएको छैन । भग्नावशेषमा कुनै सामान पछि काम लाग्ने छन् कि भनेर कर्मचारीले जाँच गरिरहेका छन् । शुक्रबार बिहान अधिकृत झनकराज अधिकारी प्रदेशसभा परिसरमा राखिएको डिस्प्लेका कुनै सामग्री काम लाग्ने छन् कि भनेर प्राविधिकबाट जाँच गराउन खटिएका थिए । ‘यो स्क्रिन पोहोर चैतमा ८ लाख रुपैयाँ खर्च गरेर राखिएको हो । अहिले ८ सय पनि पर्ने सामान बचेको छैन,’ भग्नावशेषअघि भुइँमा बसेका उनले सुनाए, ‘हामीले आठ वर्षमा बल्ल–बल्ल यत्तिको सामान जोडेका थियौं । अब त २० औं वर्ष लाग्छ ।’

भोलिपल्ट बिहानै कर्मचारी कार्यालय आउँदा संसद् खरानी भइसकेको थियो । भोलिपल्ट भग्नावशेष भएको संसद् हेर्न र चोरी गर्नेहरु आएको सचिवालयमा कार्यरत सवारी चालक मीन श्रेष्ठले सुनाए । ‘हेर्न आउनेको भिड थियो । मान्छेहरु केही भेटिन्छ कि भनेर खोतलिरहेका थिए,’ उनले भने, ‘फूल पनि छोडेनन् । दुई–तीन मान्छे सामान खोज्ने आइरहेका थिए ।’

सचिवालयको पार्किङमा सभामुख र माओवादी प्रमुख सचेतक चढ्ने गाडी थियो । अघिल्लो दिन नै त्यहाँ राखेकाले ती गाडीको चाबी अरुसँग थिएन । ती गाडी त्यहीँ जलाइए । सचिवालयका दुई वटा गाडी प्रदेश प्रशिक्षण प्रतिष्ठानको अन्डरग्राउन्डमा राखियो । प्रदर्शनकारीले अन्डरग्राउन्डमै गएर त्यहाँ रहेका सबै सवारी जलाए । ‘हामीले अन्डरग्राउन्डसम्म जान डोजर लगाएर बाटो सफा गर्यौं। । प्रतिष्ठान र संसद्को गाडी त्यहाँ नदेख्लान् भनेर राख्यौं । त्यहीँ पसेर गाडीमा आगो लगाए,’ उनले सुनाए । काठमाडौं र पोखरामा गरेर प्रदेशसभाका ६ वटा चारपांग्रे र १३ वटा दुईपांग्रे सवारीमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

प्रदेशसभा परिसरको सामाजिक विकास तथा कृषि समितिको हल भने आगजनीबाट बचेको छ । अगाडिपट्टि रहेका संसदीय दलका कार्यालय र अरु समितिको कक्ष आगजनी भएकाले कृषि समितिको हल प्रदर्शनकारीले आगजनी गर्न भ्याएनन् । त्यहाँको एलईडी झिकेर तोडफोड गर्ने प्रयास गरेका थिए । अगाडि भवनमा आगो दन्किएपछि प्रदर्शनकारी ज्यान बचाउन भागे जसले गर्दा उक्त कार्यालय बचेको छ । हाल सचिव, सचिवालयका कर्मचारी यही हलबाट नियमित काम गरिरहेका छन् । सचिवालयमा गाँजा विधेयक दर्ता भएको छ । उक्त विधेयकलाई समितिमा पठाउन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहललाई प्रदेश सभा बैठक कक्ष बनाउने तयारी छ । साभार इकान्तिपुर डटकम

प्रतिक्रिया

भर्खरै