कोरला नाका : नेपालतर्फ अधूरो पूर्वाधारले रोकेको सम्भावना

कोरला नाका : नेपालतर्फ अधूरो पूर्वाधारले रोकेको सम्भावना

korola-naka

पोखरा । मुस्ताङको हिमाली भेगमा अवस्थित समुद्री सतहदेखि ४,६५० मिटर उचाइमा रहेको कोरला नाका नेपालको लागि ठूलो आर्थिक अवसर मानिन्छ । तर, चीनतर्फ अत्याधुनिक संरचना तयार भइसके पनि नेपालतर्फ अधूरा पूर्वाधारका कारण नाका अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असोज १० गते मुस्ताङ पुगेर नाकाको अवस्था प्रत्यक्ष अवलोकन गरेपछि यो विषय फेरि चर्चामा आएको हो । लोमान्थाङ गाउँपालिका–६ छोसे पुगेर उनले देखेकाे नतिजा प्रष्ट छ—चीनले सबै तयारी पूरा गरिसकेको छ भने नेपालले सडक र भन्सार पूर्वाधारमै ढिलाइ गरिरहेको छ । ढकालका शब्दमा, “सडक र भन्सार सुविधा तयार भएमा यो नाका उत्तरी मुलुकसँग जोडिने उत्कृष्ट विकल्प बन्नेछ, तर हाम्रो तयारी कमजोर छ ।”

चिनियाँ पक्षले स्क्यानिङ मेसिन, क्यूआर प्रणालीदेखि आधुनिक भन्सार भवनसम्म तयार गरिसकेका छन् । तर नेपालतर्फ अझै पक्की सडक, पुल र आवश्यक संरचना अभाव छ । नतिजा स्वरूप, नाकाको सम्भावना अधुरो देखिएको छ । यो नाका सञ्चालनमा आएमा नेपाल–चीन मात्र नभई भारतसम्मको व्यापार छोटो दूरीमै सम्भव हुनेछ । बेनी–जोमसोम–कोरला मार्गमार्फत ४३५ किलोमिटरमै भारत र चीन जोडिने भएकाले दक्षिण एशियाली व्यापारलाई नयाँ बाटो खुल्ने अनुमान गरिएको छ । तर अहिले मुख्य समस्या सडकमै छ । १८६ किलोमिटर लामो कोरला–जोमसोम–बेनी सडक खण्डमा अपूरा पुल र कमजोर सडकले ठूला कन्टेनर चल्न कठिन बनाइरहेको छ ।

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनका अनुसार, सबैभन्दा चुनौतीपूर्ण खण्ड घाँसादेखि बेनीसम्म हो । उनकाे भनाइमा, “सडक सहज नभएकाले यहाँका व्यवसायी नै ठूलो घाटामा छन् । आयात मात्र होइन, निर्यातका लागि पनि बाटो सुधार आवश्यक छ ।” भन्सार कार्यालय मुस्ताङका प्रमुख रमेश खड्काले पनि सडक र भन्सार पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनका अनुसार, चीनतर्फ अत्याधुनिक प्रणाली निर्माण भइसकेको छ तर नेपालतर्फ बाटो अवरुद्ध हुँदा हालसम्म १८ वटा कन्टेनर भन्सारमै रोकिएका छन् ।

भदौ ३० गतेदेखि मात्रै यो नाकाबाट औपचारिक रूपमा व्यापार सुरु भएको हो । छोटो अवधिमै २ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको तथ्यांकले यसको क्षमता प्रष्ट देखाउँछ । तर ढिलाइ भएमा यो अवसर गुम्न सक्ने चेतावनी ढकालले दिएका छन् । चीनले सिगात्सेदेखि ल्हासासम्मको मार्ग व्यवस्थित गर्दै मेसिनरी प्रणालीसहितको सम्पूर्ण पूर्वाधार तयार गरिसकेको छ । तर नेपालतर्फ अझै कच्ची पुल, पहिरोले क्षतिग्रस्त सडक र अधूरा कामका कारण नाका ‘आधा–खुला’ अवस्थामा मात्र सीमित छ ।

यसरी, कोरला नाका अहिले ‘अवसर र चुनौती’को दोबाटोमा उभिएको छ । एकातिर चीनको तयारीले यो मार्गलाई व्यापारिक हब बनाउने सम्भावना बढाएको छ भने अर्कोतिर नेपालको ढिलाइले यही सम्भावना हराउने खतरा समेत बढेको छ । नाकामा देखिएको यो अन्तरले नेपालको भौगोलिक सम्भावना र राजनीतिक इच्छाशक्तिबीचको वास्तविक दूरी पनि प्रष्ट पारिरहेको छ ।

प्रतिक्रिया

भर्खरै