मुग्लिन–नागढुंगा सडक पहिरोले अवरुद्ध

मुग्लिन–नागढुंगा सडक पहिरोले अवरुद्ध

Sadak mugling

काठमाण्डौ । मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण आएको पहिरोले सडक अबरुद्ध बनेको हो । यस्तै मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा सडक एकतर्फी मात्रै सञ्चालनमा छ । अहिले गाडी चलिरहे पनि केही ठाउँमा ढुंगाहरु झर्ने क्रम रहेकोले जोखिम रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यसैबीच सडक विभागले पर्सि सोमवारसम्म सडक अवरुद्ध हुने सम्भावना उच्च रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । मनसुन प्रणाली सक्रिय भएर अत्यधिक वर्षा हुँदा पहिरो र बाढीको उच्च जोखिम रहने विभागले जनाएको हो । विशेषगरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी ठाउँहरुमा रातिको समयमा यात्रा नगर्न विभागले आग्रह गरेको छ  । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले प्रभावित क्षेत्रका अवरुद्ध सडक खण्डहरूमा आवश्यक उपकरण परिचालन गरी तत्कालै मर्मत तथा पहिरो हटाउने कार्य अघि बढाइने जानकारी दिनुभएको छ ।

विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागले सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्पूर्ण सडक प्रयोगकर्तालाई सतर्क रहन अनुरोध गरेको छ ।विभागले यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न सुझाव दिएको छ । मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षाकर्मीको व्यवस्था हुनाका साथै बाटो मर्मतको कार्य पनि चाँडो हुने भएकाले मुख्य राजमार्ग प्रयोग गर्न विभागले सुझाएको हो ।

विजयादशमीका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने क्रम जारी रहेसँगै रातको समयमा यात्रा गर्दा पहिरोका कारण बढी धनजनको क्षति हुन सक्ने भएकाले सकेसम्म रातमा यात्रा नगर्न विज्ञहरूले पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया