पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पहिलो पटक मन्त्री बनेपछि पोखरा आइपुग्दा सुरक्षाकर्मी तैनाथ भए पनि उनले त्यसको आवश्यकता ठानेनन् । विमानस्थलमा उत्रिएलगत्तै प्रहरी भ्यान र पिएसओसहितको टोली फर्काइदिँदै उनी सामान्य यात्रु झैँ ट्याक्सी चढेर पोखरा–३ नदीपुरस्थित डेरातर्फ लागे ।

धर्के टिसर्ट, हाफ ज्याकेट, ढाकाटोपी र झोला बोकेर देखिएका मन्त्री पुन विमानस्थलमै धेरैको ध्यान खिचे । तर, अन्य मन्त्रीजस्तो स्वागत सत्कार, माला–खादा थिएन । उनी सधैंझैँ सामान्य पोसाकमै आफ्नै घर पुगेका थिए । पुन विगत २५ वर्षदेखि नदीपुरमै देउबहादुर पुनको घरमा डेरामा बस्दै आएका छन् । उनका परिवार त्यहीँ बस्छन् भने घरबेटी विदेशमै छन् । डेरामा पुगेपछि सञ्चारकर्मी भेट्न खोज्दा उनी तारन्तार फोनमा व्यस्त थिए । सरुवाबारे कुरा गर्दै उनले ‘सोर्सफोर्स होइन, नियमअनुसार गर्नुपर्छ’ भन्दै आफ्नो धारणा राखेका थिए ।

म्याग्दीमा जन्मिएका पुनको बाल्यकाल चितवनमा बितेको हो । त्यहाँ स्कुल पढेका, अध्यापन गराएका उनी पछि अमेरिका गएका थिए । अहिले दशैं मनाउन फेरि चितवन नै गएको उनले बताए । ‘भाइबहिनी सबै उतै छन्, टीका लगाइदिने जिम्मा मेरो हो,’ पुनले भने । सुरक्षा लिन अस्वीकार गर्दै पर्यटक बस चढेर चितवनतर्फ गएको पुष्टि कास्की प्रहरी प्रवक्ताले पनि गरेका छन् । पोखरामै किनमेल गर्दा र सडकमा साधारण नागरिकझैँ हिंड्दा खिचिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

छिमेकी र चिन्नेहरूका अनुसार पुन सधैं सरल स्वभावका भए पनि आफ्नो काममा दृढ देखिन्छन् । उनले पुस्तक बिक्री गरेर राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम जुटाइरहेको तथ्य पनि उल्लेख गरेका छन् । हालसम्म २ लाख ४० हजार रुपैयाँ उनले किताब बिक्रीमार्फत संकलन गरिसकेका छन् । छिमेकीले भनेजस्तै, “भ्रष्टाचार नगर्ने, बडप्पन नदेखाउने मन्त्री भेटिएको छ ।” मन्त्री पुनको जीवनशैलीबारे धेरैले प्रशंसा गरेका छन् भने कतिपयले साधारण हुने नाममा आफ्नो लवाइ, खवाइ र व्यवस्थापन पनि व्यवस्थित ढंगले नगर्ने व्यक्तिका रुपमा पनि चित्रण गर्ने गरेका छन् भने सामान्य जीवनशैलीकै कारण मन्त्री पुनप्रति नागरिकमा ठूलो आशा पनि पलाएको छ ।