पोखरा ५ को रक्तदानमा ४१ युनिट रगत संकलन, हिजोदेखि पुरानै कार्यालयबाट सेवा सुरु

पोखरा ५ को रक्तदानमा ४१ युनिट रगत संकलन, हिजोदेखि पुरानै कार्यालयबाट सेवा सुरु

blood

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ को आयोजनामा  भएको रक्तदानमा ४१ युनिट रगत सङ्कलन भएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण घाइतेहरू बढ्दा अस्पतालहरूमा देखिएको रगत अभावलाई हटाउने उद्देश्यले रक्तदान गरिएको वडाअध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।

मुसलधारे पानीका बावजुत मालेपाटनस्थित तोडफोड गरिएको वडा कार्यालय परिसरमा भएको रक्तदानमा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग गरेको थियो । जसमा वडाका जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयले रक्तदान गरेका थिए । 

वडा नं ५ ले पुरानै वडा कार्यालय भवन मार्फत नियमित सेवा सुरु गरेको छ ।  नयाँ भवनमा आगजनी र तोडफोडका कारण पूर्ण क्षति भएको र सेवा दिने अवस्था नरहेकोले पुरानै कार्यालयमार्फत सेवा प्रवाह  गरिएको बरालले बताए ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते विभिन्न चरणमा अराजक समूहले  वडा कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । उक्त वडा कार्यालय भवन गत असारमा मात्रै उद्‌घाटन गरिएको थियो । मर्मत पश्चात केही महिनामा पुन नयाँ भवनबाट सेवा प्रदान गरिने उनले खुलाए ।

प्रतिक्रिया