काठमाडौं । अन्तरिम सरकार गठनको प्रक्रियामा आज राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी आन्दोलनका प्रतिनिधिबीच नेपाली सेनाको समन्वयमा निर्णायक वार्ता हुने भएको छ ।
जेनजी युवाहरुले नयाँ प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिसकेका छन् । आज हुने छलफलले सो प्रस्तावलाई औपचारिक मान्यता दिने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरोधी आन्दोलन र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भड्किएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि राजीनामा दिएका थिए । त्यसपछि ताजा जनादेशका लागि अन्तरिम सरकार गठनको प्रक्रिया अगाडि बढाइएको हो ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजी प्रतिनिधिबीच आज छलफल हुने छ । सेनाले सबै पक्षलाई समेटेर सहमति खोज्ने प्रयत्न जारी राखेको जनाएको छ । कार्कीको नेतृत्वमा सरकार बनाउनुपर्ने मागलाई काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत खुलेआम समर्थन जनाइसकेका छन् । त्यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि समर्थन प्रकट गरेका छन् ।
जेनजी युवाहरुले भर्चुअल माध्यमबाट गरेको मतदानमा कार्कीलाई उल्लेखनीय समर्थन देखिएको छ । कार्कीले पनि आफूलाई दिइएको प्रस्ताव स्वीकार गर्ने र जिम्मेवारी वहन गर्ने स्पष्ट संकेत दिएकी छन् ।