देशभर कर्फ्यू जारी, नेपाली सेनाको कडा निगरानी

देशभर कर्फ्यू जारी, नेपाली सेनाको कडा निगरानी

sena pokhara

काठमाडौं । देशभर शान्ति–सुरक्षामा देखिएको अस्थिरतालाई ध्यानमा राख्दै नेपाली सेनाले मंगलबार कर्फ्यू आदेश जारी गरेको छ । सेनाले जारी गरेको विज्ञप्ति अनुसार आज साँझ ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने त्यसपछि पुनः निरन्तर कर्फ्यू भोलि बिहान ६ बजेसम्म रहनेछ ।

हालैका आन्दोलनमा अराजक समूह प्रवेश गरी सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, आगजनी, लुटपाट र व्यक्ति लक्षित आक्रमणसम्म भइरहेको भन्दै सेनाले कठोर कदम चालिएको स्पष्ट पारेको छ । हिंसात्मक गतिविधि, बलात्कारको प्रयासजस्ता घटनासमेत हुन सक्ने सम्भावना रहेकाले कडा निगरानी बढाइएको उल्लेख गरिएको छ ।

सेनाले सबै नागरिकलाई अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न आग्रह गर्दै आन्दोलनका नाममा हुने तोडफोड, आगजनी वा आक्रमणलाई दण्डनीय अपराध मानेर कारबाही गर्ने चेतावनी दिएको छ । कर्फ्यू अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन मात्र सञ्चालन हुनेछन् । आवश्यकता परेमा नजिकैका सुरक्षाकर्मीमार्फत सहजता लिन सकिने व्यवस्था गरिएको छ ।

यस क्रममा अवकाशप्राप्त सैनिक, अन्य सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई अफवाहबाट टाढा रहनुका साथै आधिकारिक स्रोतमा मात्र विश्वास गर्न सेनाले विशेष अनुरोध गरेको छ । राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवनलाई सामान्य अवस्थामा फर्काउने दायित्वमा निरन्तर प्रतिबद्ध रहने सेनाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै