काठमाडौं । नेपाली सेनाले देशका विभिन्न भागमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूविरूद्ध कारबाही सुरू गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र आन्दोलनरत समूहकै सहयोगमा सेनाले कारबाही सुरु गरेको हो। काठमाडौँका केही ठाउँमा लुटापाट र आगजनी गर्नेहरूलाई नियन्त्रणमा लिन थालिएको छ।
नेपालखबरलाई प्राप्त भिडिओ र फोटोहरूमा सेनाको घेरामा परेपछि त्यस्ता उच्छृंखल गतिविधि गरिरहेका व्यक्तिले हात उठाएर आत्मसमर्पण गरेको देखिन्छ। नेपाली सेनाले उच्छृंखल गतिविधि भए खबर गर्न हेल्पलाइन नम्बर दिएको छ।
देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय र आन्दोलनरत समूहका साथ सेना अघि सरेको छ। आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न सेनाले अनुरोध गरेको छ। जसका लागि नेपाली सेनाको हेल्पलाइन नम्बर ०१-५९७९००० नम्बर दिएको छ। अहिले धेरै ठाउँबाट आफ्नो क्षेत्रमा भइरहेका गतिविधिहरुबारे गुनासा र सूचना प्राप्त भइरहेका छन्।