पोखरा । जेनजी आन्दोलनले मंगलबार पोखरामा हिंसात्मक रुप लिँदै सरकारीदेखि निजी सम्पत्तिसम्म ध्वस्त बनाएको छ । बिहान ९ बजेदेखि सुरु भएको प्रदर्शन दिनभर उग्र बनेपछि संसद् भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुखको निवाससहित अधिकांश सरकारी निकायमा तोडफोड तथा आगजनी भयो ।आगलागी गरिएका कार्यालयहरु जलेर ध्वस्त भएका छन् भने महत्वपूर्ण कागजात नष्ट भएका छन् ।
प्रदर्शनकारीहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यदेखि गण्डकीका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घरमा समेत आगजनी गरे । बिहान करिब ९ बजेदेखि सुरु भएको आन्दोलनका कारण दिनभर पोखरा तनावग्रस्त रह्यो । सडकमा बालिएको टायर तथा कार्यालयहरु जलेर निस्केको मुस्लोका कारण साँझदेखि पोखराको आकाश कुहिरीमण्डल बनेको छ । जेनजीको आन्दोलन चर्किँदै जाँदा पोखरा–३, नदीपुरस्थित गण्डकी प्रदेश सभा सचिवालय भवनमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका हुन् । उनीहरुले प्रदेशसभा भवन परिसरमै रहेको प्रदेश प्रशिक्षण कार्यालयमा पनि आगजनी गरे । प्रदर्शनकारीहरूले पोखराको सहिदचोकस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको निवासमा तोडफोड तथा आगजनी गरे ।
जिल्ला तथा प्रदेशस्तरका अधिकांश सरकारी कार्यालयहरु पोखराको सहिदचोकमा छन् । नजिक नजिकको दूरीमा रहेको ती कार्यालयहरु क्षणभरमै ध्वस्त भएका हुन् । प्रदर्शनकारीहरुले सहिदचोकमै रहेको जिल्ला प्रशासन कार्यालय, सोही कार्यालयसँगै जोडिएको प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा पनि तोडफोड गर्नुका साथै आगजनी गरे । पोखराका मुख्य बजार क्षेत्रमा कफ्र्यु आदेश भए पनि प्रदर्शनकारीले त्यसको अवज्ञा गर्दै आगजनी र तोडफोडको शृङ्खला कायम गरेका हुन् ।प्रदर्शनकारीहरुले कास्की जिल्ला अदालत, वन तथा वातावरण मन्त्रालय, एमाले गण्डकी प्रदेश कार्यालय र एमालेकै कास्की जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरे ।
चिप्लेढुंगास्थित नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा पनि तोडफोड गरिएको छ ।सहिदचोक क्षेत्रमा मात्र जिल्ला प्रशासन कार्यालय, नीति तथा योजना आयोग, गण्डकी प्रदेश सभा सचिवालय र प्रदेश प्रशिक्षण कार्यालय जलाइएका छन् । त्यस्तै, कास्की जिल्ला अदालत, वन तथा वातावरण मन्त्रालय, एमाले गण्डकी प्रदेश कार्यालय, काँग्रेस जिल्ला पार्टी कार्यालयलगायत पार्टीका कार्यालयमा पनि आक्रमण भएको छ ।
आक्रोशित प्रदर्शनकारीले पोखरा महानगरपालिका मात्रै नभई महानगरका विभिन्न वडा कार्यालयहरु तोडफोड गर्नुका साथै आगजनी गरे । न्यूरोडस्थित पोखरा वडा ८ को कार्यालय, मालेपाटनस्थित वडा ५ को कार्यालय, नदीपुरस्थित वडा ३ कार्यालयसमेत आगो लगाएका छन् । बगरस्थित वडा १ को कार्यालय, बाँझापाटनस्थित वडा १२ को कार्यालय कोलपाटनमा रहेको वडा १५ को कार्यालय, फूलबारीस्थित पोखरा वडा ११ को कार्यालय, विन्ध्यवासिनीमा रहेको वडा २ को कार्यालय, गणेशटोलमा रहेको वडा ४ को कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ । मंगलबार राति न्यूरोडस्थित भाटभटेनीको भवनमा आगो लगाएका छन् । उनीहरुले पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको बगैँचा रिसोर्ट लगायत केही होटलहरुमा समेत आक्रमण र आगजनी गरेका छन् । नेताका घर तथा निवास छानीछानी उनीहरुले आगजनी गरेका हुन् ।
राजनीतिक नेतामाथि समेत लक्षित आक्रमण भएको छ । मेयर धनराज आचार्य, गण्डकीका मन्त्री विन्दुकुमार थापा, पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र खगराज अधिकारीको निवासमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । त्यसक्रममा गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय खाली गराई आगो लगाइएको हो । जिल्ला कारागार कास्कीका कैदीबन्दीहरुलाई भगाइएको छ । ७ सय ७३ जना कैदीबन्दी रहेको कास्की कारागारबाट जेनजी प्रदर्शनकारीहरुको सहयोगमा मंगलबार राति करिब साढे ७ बजे भगाइएको हो । मध्यरातसम्म आगजनी र ताेडफाेडको श्रृंखला राेकिएको थिएन् ।