पोखरामा प्रहरीसहति ४ जना घाइते

पोखरामा प्रहरीसहति ४ जना घाइते

jen g

पोखरा । सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र अनियमितताको विरोधमा उत्रेका जेन जी प्रदर्शनकारीले सुरक्षा घेरामा रहेको मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । प्रमुख जिल्ला अधिकारीको कार्यालय अगाडि प्रदर्शन गरेको टोली प्रहरीकै अगाडिबाट प्रदेश प्रहरी कार्यालयको ढोकैमा पुगेका थिए ।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नरोक्नु र प्रशासनले पनि कुनै सजकता नअपनाउँदा मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको हो । तोडफोड सुरु भएपछि मात्रै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सुरक्षाकर्मीको संख्या बढाउन आदेश दिएकी थिइन् । तोडफोडसँगै आगजनीको प्रयास हुँदा भित्र रहेका कर्मचारी र सर्वसाधारण त्रसित भएका थिए । उक्त घटनालगत्तै प्रमुख जिल्ला अधिकारीले सहिदचोक आसपासमा निषेधाज्ञा जारी गरिएको थियो ।

२ बजेबाट निषेधाज्ञा लागु भएको भनिए पनि साढे २ बजेपछि मात्र सूचना अनलाइन र फेसबुकमा राखेको थियो । पूर्वतर्फ वाइचोक, उत्तर पूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, कास्की, दक्षिणतर्फः राष्ट्रबैंक चोक र दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाइडभित्र निषेधाज्ञा जारी गरिएको हो । यो आदेश प्रतिकूल हुने गरी कुनै पनि प्रकारका भेला जम्मा भई आमसभा, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने कार्यालयले जनाएको छ ।

प्रदर्शनमा उत्रिएका जेन–जी युवा २९ जनालाई प्रहरीले पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रदशनका क्रममा पोखरामा ४ जना घाइते भएका छन् । प्रहरी विकास तिमिल्सिना, प्रदर्शनकारी दिवस घर्ती मगर र रमेश थापा घाइते भएका हुन् । उनीहरुको पश्चिमाञ्च क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अर्का एकजना घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । आन्दोलनकारी युवाहरू मुख्यमन्त्री कार्यालय पुगेपछि प्रहरीसँग मुठभेड भएको थियो । प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्याससँगै पानीको फोहरा प्रहार गरेको थियो । सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा पोखराको सभागृहबाट सुरु भएको यो आन्दोलन विभिन्न स्थान हुँदै मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय र सहिदचोकसम्म पुगेको थियो ।

प्रतिक्रिया