पोखरा । पोखरा ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दीपकराज बास्तोलाले सहकारी आन्दोलनमा प्रतिबद्ध भएर लाग्दा सहकारीमा लागेको बादल हट्ने विश्वास व्यक्त गर्दे बास्तोलाले भने, ‘प्रतिबद्ध भएर लागौं, बादल हट्छ, हट्छ ।’ केही सहकारी मात्रै समस्याग्रस्त भएकोमा देशमा चार हजार सहकारी नै समस्यामा छन् भन्ने जस्तो अफवाह फैलिरहेको उनले बताए । समस्या भएका केही सहकारीमा पनि आन्तरिकरुपमै सुल्झाउने प्रयास भइरहेको उनले खुलासा गरे ।
कलम सहकारीले अतिथिलाई पुस्तक उपहार दिने राम्रो परम्परा बसालेको बताउँदै कोरोनाकालमा त्यही पुस्तक पढेर समय बिताएको पनि उनले स्मरण गरे । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले कलम सहकारी कलमजीवी सञ्चारकर्मीका लागि आफ्नै सहकारीजस्तो लाग्ने बताए । उनले कलम सहकारीमा अधिकांश पुस्तक तथा स्टेशनरी व्यवसायी भएको चर्चा गरे । साथै, उनले पत्रपत्रिका हरेक घरपसलको शोभा भएको र त्यसमा पनि पुस्तक तथा स्टेशनरी पसलमा पत्रिका नहुनु त तरकारीमा नुन नहुनेजस्तै भएको धारणा राखे । उनले सञ्चार क्षेत्र समाजको धुकधुकी भएको उल्लेख गर्दै सञ्चारको प्रवद्र्धनमा सहयोग पु¥याउन पनि आग्रह गरे ।
कलम सहकारीका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले १५ वर्षअघि संस्था स्थापना गर्दा देखिएको जोश कायमै गर्नुपर्ने उल्लेख गर्दै राम्रो नेतृत्व हुने संस्था कुनै हालतमा नबिग्रने दाबी गरे । संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष अर्जुनप्रसाद पोखरेलले संस्थाप्रति जिम्मेवारी बन्न आग्रह गर्दै भने, ‘हामी अनुशासनमा चल्यौं भने संस्था स्वतः सुदृढ बन्छ ।’सल्लाहकार एवं पूर्व अध्यक्ष ऋषिराम शर्मा भण्डारीले सहकारीको आर्थिक सूचक राम्रो हुनुपर्नेमा जोड दिए सम्मानित ज्येष्ठ सदस्य रमेशलाल ताम्राकारले प्रतिकूल समयमा पनि सहकारीले प्रगति गरेकोमा खुसी व्यक्त गरे ।
पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ अध्यक्ष गोविन्द गौतमले सहकारीले व्यवसाय प्रवद्र्धन हुनेखालका तालिम वा कार्यक्रम ल्याउन आग्रह गरे । कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष ईश्वरप्रसाद सुवेदीले सहकारीको नियमनसम्बन्धी कानून आएको जानकारी दिँदै साधारण सभा नाममा अनुचित खर्च गर्न नहुने सुझाव दिए ।
राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रमुख रुक्मत श्रेष्ठले संस्थाका योजना सफल बनाउन शेयर सदस्यको पनि महत्वपूर्ण योगदान रहने बताउँदै संस्थालाई दीगो बनाउने काम गर्न सुझाव दिए । शेयर सदस्य लक्ष्मी कोइरालाले सदस्यहरुले बेलाबेलामा अनुगमन गरी त्रुटि औल्याइदिँदा संस्था सचेत रुपमा अघि बढ्ने बताइन् । शेयर सदस्य नवीन नापितले सहकारीले सदस्यहरुको बिमा गर्दा राम्रो हुने सुझाव दिए । कार्यक्रममा सञ्चारकर्मीहरु सुष्मा पौडेल र सरिता तिमिल्सिना पगेनीलगायत संस्थाका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी तथा शेयर सदस्यका सन्ततिमध्ये उत्कृष्ट छात्रछात्रालाई सम्मान गरिएको थियो ।
कलम सहकारी अध्यक्ष मनोहरि सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अहिले ऋणमा आफूहरु एकल अंकको ब्याजदरमा गइसकेको हुँदा शेयर सदस्यलाई सम्पूर्ण कारोबार यसै संस्थाबाट गर्न आग्रह गरे । संस्थाका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष रमेशराज बरालले स्वागत र सचिव लालप्रसाद पाठकले सञ्चालन गरेका थिए । सहसचिव बसुन्धरा कोइरालाले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।
सभामा कोषाध्यक्ष प्रकाश बास्तोलाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक किरण बरालले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।