पोखरामा सुपर फास्ट इभी चार्जिङ केन्द्र सञ्चालनमा

पोखरामा सुपर फास्ट इभी चार्जिङ केन्द्र सञ्चालनमा

ev 2

पोखरा । पोखरा सिमलचौरमा अत्याधुनिक विद्युतीय सवारीसाधन चार्जिङ केन्द्र सञ्चालनमा आएको छ । ४०० किलोवाट पावरयुक्त यो हब एकैपटक १० वटा ईभी चार्ज गर्न सक्ने क्षमतासहित प्रदेशकै सबभन्दा ठूलो चार्जिङ केन्द्र हो । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

स्टेसनको उद्घाटन गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले निजी–सार्वजनिक साझेदारीले दिगो ऊर्जा र विद्युतीय यातायात प्रवर्द्धनमा नयाँ युगको सुरुवात गरेको बताउनुभयो। त्यस्तै, हुवावे टेक्नोलोजिज नेपालका प्रमुख कार्यकारी अधिकृत जिमले नेपालमा अत्याधुनिक ईभी पूर्वाधार विस्तारका लागि यस प्रविधिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

क्लिन चार्जिङ पोखरा स्टेसनका प्रमुख इन्दिरा शर्मा भण्डारीले वातावरणमैत्री प्रविधिको विकासमा निजी क्षेत्रको सक्रियता महत्त्वपूर्ण भएको धारणा राख्नुभयो। सहकार्य संस्थामध्ये गाडीचार्जकी सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले यो हब आफ्नो संस्थाको दीर्घकालीन योजनाको हिस्सा भएको बताउनुभये । “हामीले पूर्व पथरीदेखि पश्चिम धनगढीसम्म १०५ भन्दा बढी ईभी चार्जिङ स्टेशन स्थापनाको लक्ष्य लिएका छौं,” उहाँले भन्नुभयो। उहाँका अनुसार यस योजनाले नेपालभरका समुदायलाई सहज, भरपर्दो र वातावरणमैत्री यातायात सेवामा पहुँच दिलाउनेछ।

यस चार्जिङ हबलाई Clean Energy (Energy Environment Construction & Engineering Pvt. Ltd.) ले निर्माण र व्यवस्थापन गरेको हो भने गाडीचार्ज प्रा.लि. को साझेदारीमा ‘गाडी वार्ज फ्रेन्चाइज मोडल’ अन्तर्गत सञ्चालनमा ल्याइएको हो। यो केन्द्रमा हुवावेको स्वामित्वयुक्त Liquid Cooled Hub Technology प्रयोग गरिएको छ।

कुल पाँच वटा चार्जर जडान गरिएका यस केन्द्रमा तीनवटा डुअल गन GB/T डिस्पेन्सर छन्, जसले २४० किलोवाट क्षमतामा ६ वटा गाडीलाई एकैसाथ चार्ज गर्न सक्छन्। यसमार्फत कुनै पनि एउटा गाडीलाई अधिकतम १८० किलोवाटसम्म ऊर्जा आपूर्ति गर्न सकिन्छ। साथै, दुईवटा डुअल गन CCS2 चार्जर पनि राखिएका छन्, जसको क्षमता ८०–८० किलोवाट रही ४ वटा सवारीलाई एकैपटक चार्ज गर्न मिल्छ। GB/T र CCS2 दुवै अन्तर्राष्ट्रिय चार्जिङ स्ट्यान्डर्डलाई समर्थन गर्ने यस प्रविधिले उपलब्ध विद्युतलाई वास्तविक समयमा विभाजन गर्दै दक्षतामा वृद्धि गर्ने र ग्रिडमा अतिरिक्त दबाब नपार्ने व्यवस्था गरेको छ। उद्घाटन कार्यक्रमको सञ्चालन विवेक देवकोटाले गर्नु भएको थियो ।

प्रतिक्रिया