अबैध विदेशी विनिमय कारोबारमा संलग्न तीन जना पक्राउ

अपराध

अबैध विदेशी विनिमय कारोबारमा संलग्न तीन जना पक्राउ

७६ लाख बराबरको रकम बरामद

Picture11

पोखरा ।  अबैध विदेशी विनिमय कारोबारमा संलग्न तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  साउन १० गते साँझ करिब ५ बजे पोखरा महानगरपालिका वडा नं.१७ पार्दी बिरौटामा अवैधरूपमा विदेशी विनिमय कारोबार भईरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा

१. महुमुद्दिन एम अहमद, ४५ वर्ष, रुपन्देही सिद्धार्थनगर नगरपालिका–१३ हाटबजार निवासी, रुपन्देही तथा कास्कीमा रेस्टुरेन्ट व्यवसायी।
२. राजकुमार बुढाथोकी, ४५ वर्ष, झापा दमक नगरपालिका–४ निवासी, हाल पोखरा महानगरपालिका–६ बैदाम बसोबास, ‘हिलारी मनि चेन्जर’का सञ्चालक।
३. खेमराज पौडेल, ४३ वर्ष, पोखरा महानगरपालिका–१९ पुरनचौर निवासी, ‘सगरमाथा मनि चेन्जर’का सञ्चालक।

बरामद विदेशी तथा नेपाली मुद्राहरू:

  • अमेरिकी डलर १०० दरका १९६ थान (USD 19,600)

  • युरो ५०० दरका ३ थान, २०० दरका ८ थान र १०० दरको १ थान (कुल Euro 3,200)

  • नेपाली रुपैयाँ १००० दरका ४,३७३ थान (रु. ४३,७३,०००)

  • नेपाली रुपैयाँ १०० दरका ७ थान (रु. ७००)

हालको विनिमय दर (१ USD = रु.१३८ र १ Euro = रु.१६२) अनुसार कुल बरामद रकम रु. ७५,९६,९००।– रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११, दफा ९५ अनुसार अबैध विदेशी विनिमय कारोबारको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ। ऐन अनुसार बिना अनुमति विदेशी विनिमय कारोबार गर्नेलाई कानुनी कारबाही गरिने प्रावधान छ। प्रकाउ परेकालाई प्रहरीले आइतबार सार्वजनिन  गरेको हो ।  उक्त कारोबार राष्ट्र बैंकको स्वीकृति विना गरिएको र यसले वित्तीय प्रणालीमा अवैध प्रभाव पार्न सक्ने देखिएकाले कडा अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

प्रतिक्रिया