एक सय पचासी पालिकाको पारित भएन बजेट

एक सय पचासी पालिकाको पारित भएन बजेट

local-gov.-budget

काठमाडौ‌‌‌‌। चालु आर्थिक वर्ष २०८२/८३ का लागि १८५ वटा स्थानीय तहले गाउँ र नगर सभाबाट निर्दिष्ट समयभित्र बजेट पारित गर्न सकेनन् ।

गत असार १० गतेभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आआफ्ना गाउँ र नगर सभामा आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित आय तथा व्ययसहितको बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ तर बिहीबारसम्म १८५ वटा स्थानीय तहले असार मसान्तभित्र सभामा बजेट पेस र पारित गर्न नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव रेशमलाल कँडेलले ती स्थानीय तहमध्ये कतिपय स्थानीय तहले असार मसान्तभित्र सभाबाट बजेट पारित गरे पनि सोको जानकारी मन्त्रालयको वेबसाइटमा प्रविष्ट नहुँदासम्म मन्त्रालयको दृष्टिमा ती स्थानीय तहले सभामा बजेट पेस भएको नमानिने स्पष्ट पार्नुभयो ।मन्त्रालयले हरेक वर्ष सभाबाट बजेट पारित गरी सोको विवरण मन्त्रालयका वेबसाइटमा प्रविष्ट गर्न गत जेठमा नै आग्रह गर्छ । अटेर गर्ने स्थानीय तहले अनुदान कटौतीको सजाय भोग्नु पर्छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐनले स्थानीय तहका लागि गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमानसम्बन्धी विवरण गाउँ र नगर सभामा पेस गरे वा नगरेको सूचकका लागि पाँच अङ्क प्रदान गर्ने व्यवस्था गरेको छ । त्यस्तै असार मसान्तभित्र स्थानीय तहको सभाले बजेट पारित गरे वा नगरेको भन्ने सूचकका लागि अर्को पाँच अङ्क तोकिएको छ । आयोगले विभिन्न १७ वटा सूचकलाई आधार मानेर सय नम्बर प्रदान गर्छ । अयोगका सूचना अधिकारी राजेश्वरी खत्री सापकोटाले असार १० गतेभित्र सभामा बजेट पेस गर्न नसक्ने र असार मसान्तभित्र पारित नगर्ने स्थानीय तहको कार्यसम्पादनमा आधारित सूचकबाट पाउने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन सूचकमा आधारित अनुदान घट्ने बताउनुभयो ।

यसअघिका वर्षमा पनि निर्दिष्ट समयभित्र बजेट पारित नगर्ने स्थानीय तहको समानीकरण अनुदान शीर्षकमा केही रकम कटौती हुँदै आएको आयोगले जनाएको छ । सङ्घीयताविद् डा. खिमलाल देवकोटाले कानुनले तोकेको समयमा सभामा बजेट पेस नगर्ने स्थानीय तहका लागि सङ्घीय सरकारले अनुदान मात्र कटौती गर्नेभन्दा पनि आवश्यक समन्वय र सहजीकरणमा जोड दिनुपर्ने बताउनुहुन्छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले महासङ्घले पटक पटक सभामा बजेट पेस गर्न आग्रह गर्दै आए पनि सम्बन्धित स्थानीय तहले अटेर गरेपछि त्यसको सजाय सम्बन्धित स्थानीय तहले नै भोग्नुपर्ने बताउनुभयो ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले भने कुल ७५३ स्थानीय तहमध्ये असार मसान्तभित्र गाउँ र नगर सभाबाट बजेट पारित गर्न नसक्ने २३ वटा मात्र स्थानीय तह रहेको जनाएका छन् । कुल २९३ वटा नगरपालिकामध्ये गत असार १० गतेभित्र २३ वटा नगरपालिकाले सभामा बजेट पेस गर्न सकेनन् भने असार मसान्तभित्र ११ वटा नगरपालिकले बजेट पारित गर्न सकेनन् । त्यस्तै ४६० गाउँपालिकामध्ये असार १० गतेसम्म १५ वटा गाउँपालिकाले सभामा बजेट पेस गर्न सकेनन् । तीमध्ये १२ वटा गाउँपालिकाले असार मसान्तसम्म सभाबाट बजेट पारित गर्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले बताउनुभयो ।  जनप्रतिनिधिको आन्तरिक द्वन्द्व, कर्मचारी र जनप्रतिनिधिबिच विवाद र कतिपय प्रमुखहरू विदेश भ्रमण गएको लगायतका समस्याले गर्दा सभामा बजेट पेस र पारित गर्न नसकिएको महासङ्घले जनाएको छ ।  आजको गाेरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया