पोखरा ।
पोखरा २८ कालिका बिमिरापानीका नवीन पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया च्याप्टरको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया च्याप्टरको आगामी कार्यकाल २०२५–२०२७ का लागि पौडेलले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्। आगामी जुलाई २६ मा हुने एनआरएनए एसीटी निर्वाचनका लागि उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
पौडेल लामो समयदेखि अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली समुदायसँग घनिष्ठ रूपमा जोडिएका अभियन्ता हुन्। उनले अष्ट्रेलियन नेप्लिज फरमली सोसाइटी (ANFS) मा २०१७ देखि २०१९ सम्म आइटी सहयोगीको रूपमा कार्य गरे भने २०२० देखि २०२२ सम्म युवा तथा विद्यार्थी संयोजकको भूमिका निर्वाह गरेका थिए। साथै, उनले FENCA द्वारा आयोजित विविध कार्यक्रममा स्वयंसेवकको रूपमा योगदान पुर्याएका थिए। पछिल्ला दुई निर्वाचनमा एनआरएनए एसीटी निर्वाचन टोलीमा सक्रिय रूपमा सहभागी भएका पौडेल क्यानबेराका सामाजिक गतिविधिमा निरन्तर सहभागी हुँदै आएका छन्।
क्यापिटल एजुकेशन एण्ड माइग्रेसन अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेल रजिष्ट्रेड माइग्रेशन एजेन्ट हुन्। यस भूमिकामा रहँदै उनले नवप्रवेशी आप्रवासी तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई रोजगारी, तालिम तथा स्थायीत्व प्रक्रियामा सहजीकरण गर्दै आएका छन्। यही अनुभवलाई समुदायको हितमा अझ सशक्त रूपमा प्रयोग गर्ने योजनाका साथ उनले उम्मेदवारी दिएको बताएका छन्।
एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय पौडेलले यसपटक नेतृत्व तहमा पुगेर नेपाली समुदाय र मातृभूमिको समृद्धिमा योगदान पुर्याउने आफ्नो चाहना रहेको उल्लेख गरेका छन्। “एनआरएन अभियानमा अब नेतृत्वको भूमिकाबाट योगदान दिनुपर्छ भन्ने सोचले उम्मेदवारी दिएको पौडेलले बताए ।
पौडेलको मूल एजेन्डा एकता, वंशजलाई नेपाली नागरिकताको निरन्तरता, अष्ट्रेलियावासी नेपालीको सर्वोत्कृष्ट हित, र मातृभूमिको समृद्धिमा प्रवासबाट योगदान गर्ने रहेको छ। प्रचारप्रसारभन्दा परिणाममुखी कार्यशैलीमा विश्वास राख्ने पौडेल क्यानबेराको नेपाली समाजमा एक बौद्धिक र सालिन अभियन्ताका रूपमा परिचित छन्।
उनका प्रमुख उद्देश्य र प्रतिबद्धता:
• NRNA ACT लाई थप समावेशी, पारदर्शी र परिणाममुखी बनाउने।
• नयाँ आप्रवासी र विद्यार्थीहरूका लागि सेवा केन्द्रित कार्यक्रमहरू ल्याउने।
• संस्थागत सञ्चार, संयोजन र निर्णय प्रक्रियामा स्पष्टता र जवाफदेहिता सुनिश्चित गर्ने।
• पूर्ववर्ती अनुभव प्रयोग गर्दै कार्यसमितिलाई प्राविधिक रूपमा सबल बनाउने।
• समुदायको सशक्तिकरणका लागि साझा एजेन्डामा सहकार्य गर्दै अघि बढ्ने।
“Together for a Stronger Nepali Diaspora” भन्ने नारासहित पौडेलले समुदायसँग विश्वास, सुझाव र समर्थनका लागि अपिल गरेका छन्।