पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ । बिहिबार एक समारोहका बीच महानगरका प्रमुख धनराज आचार्यले भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै उनले अब महानगरका ३३ वटा वडा मध्ये दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको जानकारी दिए ।
उनका अनुसार वडा नम्बर ९ र वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण गर्न बाँकी छ । ती दुई वडाको भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने र पोखरा महानगरको आफ्नै प्रशासनिक भवनको समेत चालु आर्थिक वर्षमा नै शिलान्यास गर्ने उनले जानकारी दिए ।
प्रमुख आचार्यले वडा वडामा अधिकार विकेन्द्रिकरण गर्दा विकास निर्माणमा प्रभावकारी परिणामहरु देखिएको बताए । विगतमा १० लाख भन्दा बढीका परियोजनाको सम्झौता र भुक्तानी समेत लिन महानगर धाउनुपर्ने बाध्यता अहिले नरहेको उनले टिप्पणी गरे ।
महानगरका उपप्रमुख मञ्जदेवी गुरुङले वडा नम्बर ५ को नयाँ भवनबाट दिइने सेवामा नविनतमढंगले काम हुने अपेक्षा प्रकट गरिन् । महानगरले पहिलो कार्याकाल देखि नै वडा कार्यालयहरु व्यस्थित हुनुपर्छ र त्यहीँबाट राम्रो सेवासुविधा पाउनुपर्छ भनेर निर्माणको कार्य थालिएको बताइन् ।
वडा नम्बर ५ का वडाध्यक्ष विष्णु प्रसाद बरालले पर्स्याङ बंगैचा पार्कबाट सेवा सुरु भएको वडा कार्यालय अहिले नयाँ भवनसम्म आइपुगेको भन्दै सुविधासम्पन्न वडा कार्यालयबाट जनताका अपेक्षा पनि त्यही अनुरुप पुरा गर्ने प्रतिवद्धता जनाए । जग्गा प्राप्तिका लागि योगदान दिने पूर्वमहानगर प्रमुख मानबहादुर जिसीसहित भवन निर्माणका लागि योगदान दिने सबैजना प्रति वडाध्यक्ष बरालले आभार प्रकट गरे ।
वडाध्यक्ष बरालका अनुसार वडा कार्यालय भवन निर्माणका लागि २३ माघ २०७९ मा निर्माण कम्पनी अमित/एसवी जेभी पोखरा ५ संग सम्झौता भएको थियो । २२ बैशाख २०८२ मा सम्पन्न गर्नुपर्ने गरि भएको सम्झौता बमोजिम नै निर्माण कम्पनीले भवन निर्माण सकेको हो । भवन निर्माणका लागि सात करोड २६ लाख ६४ हजार ६२३ रुपैयाँ लागत स्टमेट गरिएकामा ४ करोड ८४ लाखमा निर्माण सम्झौता भएको हो ।
निर्माण कम्पनीलाई ४ करोड ६४ लाख ८५ हजार रुपैयाँ भुक्तानी दिइएको पोखरा महानगर भवन शाखाका प्रमुख वरिष्ठ ई. लक्ष्मी प्रसाद गौतमले जानकारी दिए । १६ हजार ३४२ बर्गफिटको भवन निर्माण भएको छ । जसको भूमिगत तलामा पार्कीङ, पहिलो तलामा प्रशासन, लेखा, दर्ता चलानी, दोस्रो तलामा जनप्रतिनिध र सचिवको कार्यकक्ष तेस्रो तलामा पुस्तकालय र तालिम कक्ष साथै चौथो तलामा सभाहल राखिने वडाध्यक्ष बरालले जानकारी दिए । भवन अपांगमैत्री बनेको छ ।
भवन उद्घाटन समारोहमा वडा प्रोफाइलको लोकार्पण गरिएको थियो । निवर्तमान वडाध्यक्ष धनबहादुर नेपालीको नेतृत्वमा प्रकाशित प्रोफाइलमा वडा नम्बर ५ मा भए गरेका कामका साथै वडाको सबै विषयहरु समेटिएका छन् । पूर्ववडाध्यक्ष नेपालीले भवन सुन्दर भएजस्तै सुन्दरढंगले जनप्रतिनिधिले जनताको काम गर्ने अपेक्षा प्रकट गरे । उनले वडा दर्पणले वडाको बारेमा जानकारी दिएको बताए ।
कार्यक्रममा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिना, पोखरा महानगर वडा नम्बर २ का वडाध्यक्ष दिवशमान प्रधानांग, वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगी, स्थानीय समाजसेवी पुरुषोत्तम पराजुली र वदनकुमारी शर्मा लगायतले शुभकामना दिएका थिए । वडा सदस्य हरिमायाँ विश्वकर्माले स्वागत गरेको उक्त उद्घाटन समारोहमा वडा सचिव लक्ष्मण शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।