कास्कीमा ३० विद्यालयका ६५ विद्यार्थीले ल्याए ४ जिपिए

कास्कीमा ३० विद्यालयका ६५ विद्यार्थीले ल्याए ४ जिपिए

see exam

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा अनुसार कास्कीबाट ८ सामुदायिक विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले २०७२ देखि एसएलसी परीक्षा प्रणालीबाट परिवर्तन गरी एइई लागू गर्‍याे र परीक्षाफलमा ग्रेडिङ सिस्टम लागू गर्‍याे ।

त्यो बेलादेखि नै कास्कीका सामुदायिकका विद्यार्थीले ग्रेडिङको उच्चतम विन्दु ४ जिपिए ल्याउन सकेका थिएनन् । यो पटक कास्कीका ८ सामुदायिक विद्यालयका विद्यार्थीले क्रमभंग गरेका छन् । यसभन्दा अघि संस्थागत विद्यालय पढ्नेहरुले मात्र ४ जिपिए ल्याउने गरेकोमा यो वर्ष ८ विद्यालयका १८ विद्यार्थीले इतिहास कायम गरेका छन् । आठै विद्यालय पोखरा महानगरपालिकाका हुन् । सामुदायिकतर्फ सबैभन्दा बढी अमरसिंह माविका ५ जना विद्यार्थीले ४ जिपिए ल्याए । जनप्रिय मावि र भद्रकाली माविका समान ४ जनाले पनि इतिहास बनाएका छन् । बाटुलेचौरको विन्ध्यबासिनी मावि, निर्मलपोखरीको जनचेतन मावि, छोरेपाटन मावि, गोगन मावि र बालमन्दिर माविका १÷१ जनाले पनि ४ जिपिए ल्याएका छन् । समग्रमा कास्कीका ६५ विद्यार्थीले ४ जिपिए ल्याएका छन् । त्यसमध्ये ४७ जना संस्थागत विद्यालयका छन् । शिक्षा विकास तथा समन्वय इकाई, कास्कीले दिएको जानकारी अनुसार कास्कीमा ८२.५५ प्रतिशत विद्यार्थी एसइई पास भए । अघिल्लो वर्ष ७१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यो वर्ष १० प्रतिशतभन्दा बढी विद्यार्थी सफल भएका छन् ।

यो नतिजा अनुसार कास्कीको एसइई नतिजा उक्लदो अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बताए । कार्यालयको उपलब्ध तथ्यांक अनुसार, जिल्लाका विभिन्न ३० सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले यो सफलता पाएका हुन् । सबैभन्दा बढी विद्यार्थीले ४ जिपिए ल्याउने विद्यालयमा पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुल रहेको छ । मदरल्यान्डबाट मात्रै ११ विद्यार्थीले यो उपलब्धि हासिल गरेका छन् । अमरसिंह मावि, जनप्रिय मावि, शिशु निकेतन सेकेन्डरी स्कुल र फिस्टेल एकेडेमीबाट समान ४ विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । भद्रकाली माविबाट ३ जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउँदा अन्य ६ विद्यालयबाट २–२ जना विद्यार्थीले यो सफलता हात पारेका छन् ।

बाँकी १९ विद्यालयबाट १–१ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यो नतिजाले कास्की जिल्लाको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको मेहनतलाई उजागर गरेको  प्रमुख आचार्यले बताए । ‘पोहोर साल कास्कीबाट २१ जनाले ४ जिपिए ल्याएका थिए । यो पटक बढेर ६५ भए । क्वालिटी र क्वान्टिटी हिसाबले यो पटक बढेको छ,’ उनले भने, ‘यो पटक सबैभन्दा राम्रो पक्ष के रह्यो भने अहिलेसम्म कास्कीबाट कुनै पनि सामुदायिक विद्यालयले जिपिए ४ ल्याएका थिएनन् । यो पटक ८ सामुदायिक विद्यालयले ल्याए ।’ गत चैतमा भएको परीक्षामा ९ हजार ७ सय ८६ विद्यार्थी सहभागी थिए । तीमध्ये ८ हजार ८९ विभिन्न ग्रेडमा उत्तीर्ण भएका छन् भने १ हजार ७ सय ७ विद्यार्थीको ननग्रेड छ । ननग्रेड विद्यार्थीका लागि साउनमा ग्रेड वृद्धि परीक्षा हुनेछ । प्राविधिकतर्फ १९२ मा १६० पास (८७.९१ प्रतिशत), २२ जना ननग्रेड भएका छन् । ‘जति विषय लागेको छ, सबै विषयमा ग्रेड वृद्धि गर्न पाउँछन् । यसका लागि साउनमै परीक्षा हुन्छ,’ उनले भने । आजको समाधान दैनिकमा समाचार छ ।

प्रतिक्रिया