गण्डकी सरकारकाे बजेट ३१ अर्ब ९८ करोड

गण्डकी सरकारकाे बजेट ३१ अर्ब ९८ करोड

budget-2082

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन् ।

बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। यस्तै, पूँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ५९.७ प्रतिशत हो। त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.८ प्रतिशत हो।

अर्थमन्त्री गुरुङले बजेट प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासमा केन्द्रित रहेको उल्लेख गरे। उनले विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको पनि जानकारी दिए। ७ अर्ब ७३ करोड रुपैया वित्तीय समानीकरणबाट प्राप्त हुँदा ९ अर्ब २९ करोड राजश्व बाँडफाटबाट प्राप्त हुने सरकारको अनुमान छ ।

आन्तरिक आम्दानी ५ अर्ब ४५ करोड हुने र १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने अर्थ मन्त्रीले बताए । नपुग सवा २ अर्व रुपैयाँ चालु आवको बजेटबाट खर्च नभइ सञ्चित कोषमा रहने अर्थमन्त्री गुरुङले बताए ।

प्रतिक्रिया